काठमाडौं । महिलाले सधैं आरक्षणमा भरपर्ने भन्दा पनि आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको भनाइ छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंकले भर्चूअल आयोजना गरेको महिला उद्यमशीलता विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले आरक्षणलाई सशक्तिकरणमा बदल्नुपर्नेमा जोड दिइन् ।
सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण भन्ने नाराका लागि अन्तर्राष्ट्रि महिला दिवस विश्वभरि नै ८ मार्चमा मनाइदैछ ।
उनले महिलाहरूलाई सधैं आरक्षणमा निर्भर हुनुको साटो आफैंलाई सक्षम बनाउँदै प्रतिस्पर्धी बन्न आग्रह गरिन । उनले भनिन्, ‘सधैं आरक्षणमा भर पर्ने भन्दा पनि महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छ।’
महिला सशक्तीकरण र सहकारी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो महिला हुनु ।
संविधानसभा सदस्य समेत रहेकी मल्लले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूको वित्तीय पहुँच वृद्धि गर्न सहकारी तथा बैंकहरूले सहुलियतपूर्ण ऋण प्रणालीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उनले राष्ट्रिय सहकारी बैंकलाई महिलाका लागि विशेष ऋण कोषको व्यवस्था गर्न आग्रह गरिन । साथै, व्यवसाय गर्न चाहने महिलाहरूलाई धितोविना ऋण प्रवाहको नीति निर्माण गर्न आवश्यक रहेको बताइन् ।
महासंघले प्रदेश तथा राष्ट्रिय स्तरमा ’कोसेली घर’ प्रवद्र्धन गरी महिला उद्यमशीलता विकासलाई गति दिने योजना अघि बढाएको जानकारी दिँदै, महिलालाई व्यवसाय केन्द्रित तालिम प्रदान गर्न सरोकारवालाहरूलाई आग्रह गरिन ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महिला सशक्तीकरणमा बैंकको भूमिकाबारे प्रकाश पारेका थिए ।
उनले समानताको शुरुवात घरबाटै गर्नुपर्ने उल्लेख गर्दै, बैंकले महिला उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिसकेको र आगामी दिनमा थप कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
Leave a comment