हाइलाइट

किसान सहकारी र लम्कीचुहा नगरपालिका बिच कोल्डस्टोर संचालन सम्झौता

किसान सहकारी र लम्कीचुहा नगरपालिका बिच कोल्डस्टोर संचालन सम्झौता :: Sahakari Akhabar

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले किसान बहुउद्देश्यीय सहकारी संस्थालाई शीतगृह (कोल्डस्टोर) संचालन सम्झौता भएको छ । मंगलवार एक कार्यक्रम गरी लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीले सहकारीका अध्यक्ष सुरेन्द्रकुमार शाहलाई हस्तान्तरण पत्र प्रदान गरेकी हुन् ।

शीतगृह कृषि विकास निर्देशनालय, दिपायलको आर्थिक वर्ष २०७८ / ०७९ मा ५६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । कृषि विकास निर्देशनालय, दिपायलले लम्कीचुहा नगरपालिकालाई ०८० कात्तिकमा हस्तान्तरण गरेको । शीतगृहलाई किसानको कृषि उपजको बजार सहजिकरणका लागि नगरपालिकाले किसान सहकारीलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण गरिएको शीतगृहको उचित प्रयोग, संरक्षण, मर्मत सम्भार र सञ्चालनको सम्पूर्ण जिम्मेवारी किसान सहकारीको रहने र शीतगृहले लम्कीचुहाका कृषकलाई सहज होस् भन्ने आफूले विश्वास लिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महत केसीले बताइन् ।

शीतगृहको उचित तरिकाले सञ्चालन गर्दै कृषि उपजमा राष्ट्रियस्तरसम्मको योगदान पुगोस् भन्ने अपेक्षा लिएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

किसान सहकारीका अध्यक्ष सुरेन्द्रकुमार शाहले नगरपालिकाले हस्तान्तरण गरेको शीतगृहलाई पूर्णरूपमा सञ्चालनमा ल्याइने बताए । ‘कृषकका उपजलाई शीतगृहमा राख्दा उत्पादनभन्दा लागत बढी लाग्छ ।

यसमा नगरपालिकाले किसानलाई उनीहरूका कृषि उपजको भण्डारणमा अनुदानको व्यवस्था गरिदियोस् । हामी शीतगृहको मर्मत सम्भार, संरक्षण गर्छौ, शीतगृहलाई पूर्णरूपमा सञ्चालनमा ल्याउँछौं,’ अध्यक्ष शाहले भने ।

संस्थाका महाप्रबन्धक डम्बर शाहले तरकारी खरिदमै देशको अर्ब रुपैयाँभन्दा धेरै बाहिर गइरहेको अवस्था रहेको बताउँदै अब शीतगृह सञ्चालनमा आइसकेकाले तरकारी खेती गर्ने किसान सहकारीका सदस्यलाई सुनौलो अवसर आएको बताए ।

किसान सहकारीका कृषि उपसमितिका संयोजक मनिष न्यौपानेले शीतगृहको हस्तान्तरणले किसान सहकारीले सञ्चालन गरिरहेको कृषि प्रयोजनलाई टेवा पुगेको बताए । साथै, नगरपालिकाले कृषि उपजलाई बजारसँग जोड्न ठोस कार्यक्रम ल्याउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै नगर प्रमुख शाहीले किसान सहकारीलाई ५० लाखका लागि सम्झौता गरिसकिएको र थप ५० लाख रुपैयाँ दिन सकिने बताइन् । ‘कृषि उपजको भण्डारणका लागि अनुदान दिने भन्ने कुरा आएको छ।

नगरपालिकालाई अनुदान कुनै समस्या छैन । उचित किसानलाई वर्गीकरण गरेर किसानलाई शतप्रतिशत अनुदान दिन्छौं । अहिलेको कोल्डस्टोरले किसानलाई फाइदा पुर्याओस् ।



Leave a comment