काठमाडौं । काभ्रेपलञ्चोकको पनौतिमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था २५औं वर्षमा प्रवेश गरेको छ । संस्था फागुन १९ गते २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत वर्ष महोत्सव समारोह मनाएको छ ।
संस्थाको मुख्य कार्यालयमा अयोजित महोत्सव समारोहमा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि मन्त्री अधिकारीले सहकारीबाट ऋण लिएर नतिर्नेले ‘सबै सहकारी गलत हुन’ भनेर ‘स्यालहुँइया’ मच्चाइएकोले गलत गर्नेलाई कानुनी दायरामा ल्याइने बताए ।
समस्याग्रस्त सहकारी समाधान समिति तथा सहकारीे विभागले सहकारीको समस्या समाधानार्थ काम गरिरहेको मन्त्री अधिकारीले बताए । केही नमिलेका विषयलाई प्रतिस्थापन विधेयकले सम्बोधन गर्नेसमेत उनले जनाए ।
विधि विपरीत गलत क्रियाकलाप गर्ने सहकारी सञ्चालकसमेतको सम्पत्ति जफत गरेरै भए पनि पीडितको बचत रकम फिर्ता गर्ने उनको दाबी थियो ।
केही महिनामै ६ हजार ६ सयभन्दा बढी बचतकर्ताको रकम फिर्ता गराइसकेको र अब छिट्टै केही बचतकर्ताको रकम फिर्ता गर्ने चरणमा रहेको उनले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट शैक्षिक व्यक्तित्व रामप्रसाद अधिकारी, विशिष्ट सदस्य सम्मान अन्तराष्ट्रिय स्वर्णपदक विजेता केशव थापा, उत्कृष्ट सदस्य सम्मान जयराम तिमल्सिना, दीर्घसेवा पदकबाट कर्मचारी सुनिता हुमागाइ र साधुराम थापा, संस्थाका छोराछोरीमध्ये एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, पुर्व कर्मचारी, जेष्ठ सदस्य, पुर्व सञ्चालक र संस्थापक सदस्यलगायत ३५७ जनालाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवस खड्का, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
करिब २१ हजार सदस्य रहेको संस्थाले ६ वटा संस्था एकीकरण गरी कारोबार गरिरहेको संस्थाका अध्यक्ष उद्वव सापकोटाले जानकारी दिए । उनले हाल विभिन्न ८ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको संस्था विसं २०५६ साल फागुन १९ गते स्थापना भएको जनाए ।
Leave a comment