काठमाडौं । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाएको छ । रजत महोत्सव समारोहमा संस्थाले संस्थापक अध्यक्ष, पत्रकार, प्रारम्भिक शेयर सदस्य, पूर्व सञ्चालक र पूर्व कर्मचारीलाई सम्मान गरेको हो।
संस्थापक अध्यक्षमा कमलबहादुर बस्नेतलाई नगद २५ हजारसहित सम्मान गरेको छ भने नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई नगद १० हजारसहित सम्मान गरेको छ ।
संस्थाले पुराना कर्मचारी र शेयर सदस्यहरुलाई उपचार खर्च तथा सडक कुकुरलाई ब्यवस्थापन गर्ने संस्था, पस सोसाइटी नेपाललाई समेत सम्मान गरेको छ ।
त्यसैगरी संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारी डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मान गरिएको छ ।
यसैगरी राष्ट्रियस्तरको भेट्रान बुद्धिचाल विजेता संस्थाका सञ्चालक समिति सदस्य दिलकेशर थापालाई पनि संस्थाले सम्मान गरेको छ । विभिन्न समयमा भएका फुटसल, हाजिरीजवाफ प्रतियोगितामा विजेता उपविजेतालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर उत्कृष्ट कारोबार गर्ने ४८ जना शेयर सदस्यलाई सम्मानका साथै उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सदस्यहरुलाई सम्मान गरेका थिए ।
अध्यक्ष श्रेष्ठले रजत महोत्सव कार्यक्रम र भावि योजनाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा संस्थाको कार्यप्रगतिको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार गौतमले स्वागत गरेका थिए । साथै कार्यक्रममा संस्थाका बिभिन्न सेवा केन्द्रका कर्मचारीले नृत्य समेत प्रस्तुत गरेका थिए ।
Leave a comment