काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघले मोरङको उर्लाबारीमा १६ वटा कृषि सहकारीका सञ्चालकलाई उद्यमशिलता तालिम दिएको छ । संघले जिल्लाका कृषि तथा उस्तै प्रकृतिका सहकारीका संचालक तथा लेखा समितिका पदाधिकारीहरुलाई उद्यमशिलता तालिम दिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष खेमबहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताए । अध्यक्ष पाठकले सहकारी संस्था सुधारका लागि सबैभन्दा पहिले सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु जिम्मेवार हुनुपर्ने बताए ।
उनले केन्द्रीय नेतृत्व पनि संस्था सुधारका लागि जिम्मेवार हुने भन्दै सबै केन्द्रीय संघहरुले आ-आफ्नो सञ्जालमा रहेका संस्थाहरुलाई बिग्रन नदिन नेतृत्व नै अगाडि बढ्नुपर्ने बताए । समस्या आएपछि होइन समस्या आउनै नदिने गरी देशभर अभियान चलाउनुपर्ने उनको भनाइ थियो । साना किसान र समान प्रकृतिका कृषि सहकारी संस्थाहरुमा आफु र आफ्नो नेतृत्वमा चलेको अभियानले सकारात्मक नतिजा हासिल गर्न सकिएको बताए ।
सहकारी संस्थामा वाह्य असर पर्न नदिने गरी संस्थाहरुलाई बलियो बनाउने, सुशासन र सुद्धृढिकरणमा समेत ध्यान दिने गरी संस्थाका सबै जिम्मेवार पदाधिकारीहरु सजग हुन उनको आग्रह थियो । अध्यक्ष पाठक देशभरका कृषि सहकारी संस्थाहरुमा वर्तमान अवस्थामा देखिएको वाह्य असर नपरोस र संस्थाहरुमा सुशासन स्थापित भई सहज ढंगबाट संस्था सञ्चालन हुनुपर्छ भन्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
यसैगरी कार्यक्रममा पारिवारीक खेती कार्यक्रमको महत्व, आवश्यकता र यसको सकारात्मक प्रभावका बारेमा समेत अध्यक्ष पाठकले प्रशिक्षण गरेका थिए । उनले कृषि उत्पादन बढाउन र आफ्ना लागि आफै उत्पादन गर्ने परिपाटीको विकास गर्न पारिवारीक खेतीले सहयोग पुग्ने बताए ।
विश्वभर अभियानका रुपमा सञ्चालन भईरहेको पारिवारीक खेती कार्यक्रमलाई नेपालले पनि अगाडि बढाइरहेकोले यसमा जोडिन सबैलाई अनुरोध गरे । कार्यक्रममा किसानहरु आफै प्रवद्र्धक र आफै उपभोक्ता हुनेगरी किसान नेट सञ्चालन भईरहेको समेत जानकारी दिए । कार्यक्रममा २ सय ४० जनाको सहभागितामा थियो ।
Leave a comment