सहकारीलाई सही बाटोमा लैजाने कार्यहरु भैरहेका छः मन्त्री हाङगाम

सहकारीलाई सही बाटोमा लैजाने कार्यहरु भैरहेका छः मन्त्री हाङगाम :: Sahakari Akhabar

विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीलाई व्यवस्थित गरी सुशासन कायम गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सोमबार विराटनगरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजना गरिएको ‘सहकारी सुशासन प्रवद्र्धन सम्वन्धी कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यशाला गोष्ठीको उदघाटन गर्दै मन्त्री हाङ्गामले सरकारमा आएको दुई महिनामा नै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएको बताउँदै सहकारीलाई सही बाटोमा लैजानका लागि कार्यहरु भैरहेको उल्लेख गरे ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशीका सचिव डा शरणकुमार पाण्डेले देशभरका ३३ हजार सहरकारीमा एक सय जति सहकारी समस्याग्रस्त भए भन्दै सबैमा एउटै रुपमा मूल्याङ्कन गर्न नमिल्ने बताए । सहकारीकर्मीकै कारण सहकारीमा समस्या भएको, बाहिरबाट कोही आएर समस्याग्रस्त नबनाएको बताउँदै संघीयता आएर कार्य विभाजनको संक्रमणकालिन समयमा भएका चलखेलका कारण सहकारीमा समस्या भएको बताए ।

अब सहकारीका सात सिद्धान्तका निष्ठा र इमान्दारिता थपेर आठ वटा पुर्याउनु पर्नेमा उनको जोड थियो । डा.पाण्डेले सहकारीमा भएका बेथितिपूर्ण कार्यलाई निर्ममतापूर्वक प्रहार गरी सुशासन ल्याउन कुनै कसर बाँकी नराख्न सहकारी मन्त्रालय लागि परेको बताए ।

महासंघकी अध्यक्ष ओमदेवी मल्लले राष्ट्रको प्रमुख खम्बाको रुपमा रहेको सहकारीको सुशासनका लागि कार्यक्रम गरिएकोले आगामी दिनमा सहकारीमा भएका कमी कमजोरी हटाई सही मार्ग लैजानका लागि सहज हुने बताइन । गोष्ठीमा महासंघका बरिष्ठ उपाध्यक्ष्य रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र गिरि, बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक छत्रप्रसाद रिमाल, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा.डिल्ली पोखरेलगायत, सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

गोष्ठीमा सहकारी रजिष्ट्रार विभागका पिताम्बर घिमिरेले सहकारी सुशासन प्रवद्धन: सरोकारवाला निकायको भुमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए भने सहकारी रजिष्ट्रार कोशीका हरी बहादुर खत्रीले कोशी प्रदेशमा सहकारीको अवस्था र अवको गन्तव्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीका बर्तमान समस्या तथा समाधानको उपायहरुको बारेमा प्यानल छलफल भएको थियो ।



Leave a comment