हाम्रो साकोस २७औं वर्षमा

हाम्रो साकोस २७औं वर्षमा :: Sahakari Akhabar

काठमाडौं । ललितपुरमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २६ वर्ष पुरा गरेको छ । स्थापनाको २७औं वर्षमा प्रवेश गरेको अवसरमा सदस्य तथा सरोकारमाझ संस्थाले प्रतिवद्धता ब्यक्त गरेको छ । २०५५ साल फागुन १३ गते स्थापना भएको संस्था जिल्लाको बिकट ग्रामीण भेगबाट काठमाण्डौ उपत्यकामा आई बसोबास गर्ने समुदायका २९ जनाले दर्ता गरी ४९ जनाबाट कारोबार शुरु गरेको जनाइएको छ ।

आपसी सहयोग, सदभाव र सामुहिक हितका लागि सहकारी भन्ने संकल्पका साथ स्थापना भएको संस्थाले सदस्यहरुको निरन्तर विश्वास सहयोग र रचनात्मक सल्लाहका कारण राम्रो पहिचान बनाउन सफल भएको जनाएको छ ।

महाभूकम्पमा र कोभिड १९ महामारीको समयमा सदस्यहरुलाई घरघरमा गएर वित्तीय सेवा प्रदान गरेर, विश्वव्यापी आर्थिक मन्दी र वित्तीय क्षेत्रमा तरलताको संकुचनका अवस्थामा वित्तीय सन्तुलन कायम गरि सदस्यलाई नियमित वित्तीय सेवा प्रदान गर्दै २६औं वर्ष पार गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी बितेका वर्षहरुमा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्ने प्रेरणा प्रदान गरेको जनाइएको छ ।

सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने, सामुदायिक उत्तरदायित्वका कार्यक्रमहरु, वित्तीय अनुशासन पालना गर्ने सदस्ययलाई गर्भ देखि स्वर्ग सम्मका कार्यक्रम मार्फत विभिन्न अवस्थामा समाजिक सुरक्षाका कार्यक्रमहरु गर्नेगरेको प्रतिवद्धता पत्रमा जनाइएको छ ।

सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने, समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित सुमदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षरुमा कार्य गर्दै आएको संस्थाले जनाएको छ ।

दीगो वित्तीय सेवा र वित्तीय सक्षमताका लागि संस्थागत सुशासनलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आएको संस्थाले २०८१ साल पौष मसान्तसम्म ७ हजार ३०० जना सदस्य बाट १३ करोड ७९ लाख रुपैया शेयर पूँजी संकलन गरी १५ करोड ५ लाख संस्थागत पूँजी रहेको छ ।

त्यसैगरी सोही अवधिसम्म १ अर्ब ३० करोड ८८ लाख बचत संकलन, १ अर्ब २५ करोड ९० लाख ऋण लगानी गरी संस्थाले कुल सम्पती १ अर्ब ७३ करोड २६ लाख र्पुयाएको छ । संस्थामा २ हजार ऋणी सदस्य रहेका छन् भने तरलता प्रतिशत २०.९६ प्रतिशत रहेको छ ।

दिवसको अवसरमा संस्थाका अध्यक्ष श्यामकृष्ण घिमिरेले संस्थागत विकासमा नीति विधि, पद्धति र प्रविधिको अवलम्बन गरि आगामी दिनमा संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्।

सदस्यहरुको समृद्धिका लागि कार्य गर्दै दिगो सहकारी निमार्ण गर्ने लक्ष्यसहित  आगामी यात्रामा लाग्नुका साथै सदस्यप्रति जवाफदेहि र उत्तरदायी भएर कार्य गर्न प्रतिवद्ध रहेको उनले जनाएका छन् । दिवसकै अवसरमा संस्थाले शनिबार रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।



Leave a comment