शिक्षा तालिममा सहकारी रजिष्ट्रार पोखराको सकृयता, २१ कार्यक्रम सम्पन्न

शिक्षा तालिममा सहकारी रजिष्ट्रार पोखराको सकृयता, २१ कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले सहकारी प्रवर्धन र नियमनमा जोड दिएको छ । रजिष्ट्रारको कार्यालयले यसकालागि निरन्तर शिक्षा तालिम तथा विभिन्न अन्तरक्रिया गोष्ठी कार्यक्रम गरेको हो ।

सहकारी रजिष्ट्रारको कार्यालयले चालु आर्थिक वर्षमा मात्र ९ वटा तालिम र १२ वटा एकदिवसीय प्रशिक्षणमूलक अन्तक्र्रिया गोष्ठी गरि २१ वटा कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ ।

सहकारी रजिष्ट्रार भेषराज रिजालले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिलो चरणमा प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गरी सहकारीका कानुन, नियम, कार्यविधि र प्रक्रियाबारे सरोकारवालाहरुलाई जानकारी गराउने र दोस्रो चरणमा अनुगमन र नियमनका कार्यलाई जोड दिइने बताए ।

त्यसैगरी कार्यलयले फागुन ८ गते कास्कीको हेमजामा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तक्र्रिया गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको समन्वय जिल्ला सहकारी संघ तथा जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीले गरेका थिए ।

गण्डकी प्रदेशमा संघ, प्रदेश र ८५ वटा स्थानीय तहहरुको नियमन क्षेत्राधिकार भित्र करिब ३ हजार सहकारी संघ संस्था रहेकोमा प्रदेश नियमन क्षेत्राधिकारभित्र ९४० वटा सहकारी संघ संस्था रहेका छन् । कास्की जिल्लामा प्रदेश क्षेत्राधिकार अन्तर्गत २२८ वटा र पोखरा महानगरपालिका अन्तर्गत ३६३ वटा सहकारी संघ संस्था रहेका छन् ।

कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रदेश सचिव वासुदेव रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रदेश सचिव रेग्मीले सहकारीको अपरिहार्यता महत्व रहिरहेको सन्दर्भमा सहकारी क्षेत्रको प्रवर्धनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निरन्तर साथ र सहयोग रहने बताए ।

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन गण्डकी प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव अगाडि बढाइएको जानकारी गराउँदै रेग्मीले उत्पादनमूलक तथा निर्यात प्रवर्धन गर्ने सहकारीलाई प्राथमिकतामा राखेर काम गरिने समेत बताए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ कास्कीका दीपकराज बास्तोला र जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका शेरबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारीका साथै विषयगत सहकारी संघ संस्थाका पदाधिकारी एवं कास्की जिल्लाका विभिन्न सहकारी संस्थाका ९० जना सहभागी सम्मिलित रहेका थिए ।

कार्यक्रममा पोखरा क्षेत्रमा सहकारीको अवस्था, समस्या र समाधानका उपाय, सम्पत्ति शुद्धीकरण निवारण र सहकारीमा ऋण लगानी र असुली विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा शाखा अधिकृत ईश्वरी ढकाल, शाखा अधिकृत चोलाकान्त वाग्ले र पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका अध्यक्ष रविरमण तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागीहरुले सहकारी समान कानुनबाट निर्देशित हुनाले सबै सहकारीमा एकरुपता हुनुपर्ने, शेयर सदस्य र बचतकर्ताको लगानी सुरक्षित हुनुपर्ने, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापक आदि पदाधिकारी जिम्मेवार भई कार्य गर्नुपर्ने, नक्कली कारोबार देखाएर सक्कली बचतकर्तालाई गुमराहमा पार्न नहुनेलगायतका सुझाव राखेका थिए ।

जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव मिनराज तिमल्सिनाले स्वागत र जिल्ला सहकारी संघका अध्यक्ष दीपकराज बास्तोलाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रारको कार्यालयकी शाखा अधिकृत ईश्वरी ढकालले गरेकी थिइन्।



Leave a comment