हाइलाइट

दमौलीमा सहकारी अन्तरक्रिया 

दमौलीमा सहकारी अन्तरक्रिया  :: Sahakari Akhabar

काठमाडौं । तनहुँको दमौलीमा सहकारी सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले आयोजना गरेको थियो भने जिल्ला सहकारी संघ तनहुँले समन्वय गरेको थिायो ।

कार्यक्रम फागुन ५ गते व्यास नगरपालिकाको दमौलीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तक्र्रिया गोष्ठी सम्पन्न भएको छ । सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारी र जिल्ला बचत तथा ऋण संघका अध्यक्ष देवीबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।त्यसैगरी ब्यास नगरपालिकाका सहकारी शाखा प्रमुख रामहरि पण्डित, जिल्ला सहकारी संघ तनहुँ र बचत तथा ऋण सहकारी संघ तनहुँका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख बैकुण्ठ न्यौपानेले सहकारी स्वनियमन र स्वनियन्त्रणमा चल्ने स्वायत्त संस्था भएतापनि सहकारी बिग्रनुको मुख्य कारण सहकारीले इमान्दारिता, नैतिकता र विश्वास गुमाउनु रहेको भन्दै अध्यायदेश आउनुको पृष्ठभूमि समेत यही विषय रहेको बताए । उनले अध्यायदेशमा केही सुधार भएर कानुन पारित हुनेमा आफू विश्वस्त रहेको बताए । नगर प्रमुख न्यौपानेले सहकारी संस्थाहरूबीच ब्याज र लाभांशमा एकरूपता हुनुपर्ने विचार राखे ।

जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सहकारी संस्थाका सञ्चालक, ब्यवस्थापक, उपसमितिका पदाधिकारीहरूमध्ये ४९ प्रतिशतसम्मले डोसरी कर्जा लिन पाइने मौजुदा कानुनी व्यवस्था रहेकोमा हाल त्यस्ता जिम्मेवार पदाधिकारीहरूले डोसरी कर्जा लिन नपाइने गरी कानुन संशोधन भएको विषय जानकारी गराउँदै ऋण असुली प्रक्रियामा सञ्चालक देखि शेयर सदस्यसम्म सबै इमान्दार भएर लाग्नुपर्ने बताए ।

उनले लिखत गरेर लिएको ऋण अमर हुने तर बचनबद्ध मात्र भएको ऋण निर्जीव र नश्वर हुनसक्ने बताए । सहकारी रजिष्ट्रार भेषराज रिजाल, व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम शाखा अधिकृत ईश्वरी ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक लगायतका ६५ जनाको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू, सम्पत्ति शुद्धीकरण र सहकारी कानुन, ऋण लगानी र असुली एवं व्यास नगरपालिका क्षेत्रमा सहकारी सुधारका प्रयास विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सहकारीको कारोबार समुदाय केन्द्रित र सदस्य केन्द्रित हुनुपर्नेमा कार्यक्षेत्र बाहिर गैर सदस्यसँग समेत कारोबार भएको, धेरै सहकारी निष्क्रिय रहेका, विभिन्न सहकारीमा शेयर सदस्यहरू दोहोरो तेहरो रहेका, साधारणसभा औपचारिकतामा मात्र सीमित रहेको, कोपोमिसमा आबद्धता रहे तापनि सबै विवरण इन्ट्री नगरिने, सहकारी संस्थालाई नाफामुखी संस्थाका रूपमा विकास गरिन थालिएको, कमसल धितो राखी ऋण प्रवाह गरिने जस्ता समस्या उपर छलफल गर्दै त्यस्ता प्रवृत्ति सुधार गर्दै जानुपर्नेमा सहभागीहरू बीच मतैक्यता रहेको थियो ।



Leave a comment