काठमाडौं । लमजुङको बेँसिसहरमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा तीनदिने सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन तालिमको जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघ, लमजुङले समन्वय गरेको थियो ।
माघ २५ गते देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा सहकारीको अवधारणा, सिद्धान्त, मूल्य मान्यता र तिनको व्यावहारिक प्रयोगका विषयमा जानकारी दिइएको थियो ।
त्यसैगरी साधारणसभा, सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका काम, कर्तव्य र अधिकार, सहकारीमा सुशासन र यसको प्रयोगका विषयमा प्रशिक्षण गरिएको जनाइएको छ ।
तालिममा सहकारी सम्बन्धी कानुनी व्यवस्था, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनी व्यवस्था, सहकारीमा ऋण लगानी तथा असुली व्यवस्थाका सम्बन्धमा कक्षा सञ्चालन गरिएको थियो ।
त्यसैगरी तालिममा सहकारीमा लेखा व्यवस्थापन, वित्तीय स्रोत व्यवस्थापन तथा कोष व्यवस्थापन, सहकारीको वित्तीय विश्लेषण, सहकारीमा देखिएका समस्या तथा समाधानका उपायहरू र सहकारी अनुगमन व्यवस्थाका बारेमा समेत कक्षा सञ्चालन गरिएको थियो।
तालिममा सहकारी रजिष्ट्रार भेषराज रिजाल, जिल्ला समन्वय अधिकारी रोशन अर्याल, शाखा अधिकृत ईश्वरी ढकाल र वित्तीय विश्लेषक निर्मल गौतमले सहजीकरण गरेका थिए ।
तालिममा बेँसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्वलाशोथर गाउँपालिकाका विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति सदस्य र व्यवस्थापक गरी २५ जनाको सहभागिता रहेको थियो ।
तालिममा जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरुङ, जिल्ला सहकारी संघ, लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला बचत तथा ऋण संघ, लमजुङका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
Leave a comment