काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको छ संघकोे अन्तर लगानी तथा वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजनामा दुई दिवसीय तालिम गरेको हो । तालिमलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले प्राविधिक सहयोग गरेको थियो ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले अध्यादेश सहकारीका अन्तराष्ट्रिय सिद्धान्त प्रतिकुल हुने गरी जारी व्यवस्था भएको विरोध गरे । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रीत समुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनु पर्नेमा उल्टै संसद नै छलेर सहकारी ठगलार्ई पुष्ठपोषण गरेको उनको भनाई थियो । उनले सहकारी समुदायको भएकोले समुदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सिमा कायम गर्नु पर्ने बताए ।
संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु रहको बताए । ऋण लगानी गरेको रकम समयमै सावाँ व्याज फिर्ता भएन भन्ने संस्था संचालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने हुदाँ संस्थाले ऋण लगानीमा विशेष ध्यान पुर्याउनुपर्ने उनले बताए । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचत संगै ऋण लगानी सुरक्षित हुनुपर्ने बताए । उनले सहकारी सदस्यको विश्वास अडेकाले सदस्यको विश्वास जित्ने ढंगबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
जारी अध्यादेश र निर्देशन तथा मापदण्ड मस्यौदामा व्यवहारिक रुपमा संशोधन गर्नुपर्ने कुराहरु रहेको र उक्त कुराहरुको संशोधन गर्न गराउन बहस पैरवी तथा विरोध गर्न सकिन्छ तर कानुनको पालना गर्दिन भन्न नमिल्ने उनले बताए ।
अध्यादेशले सहकारीको ऋण सुरक्षित गर्न कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोषमा आबद्ध हुन सकिने कानुनी व्यवस्था हुनु सकारात्मक रहेको उनको भनाई थियो । तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागी रहेको थियो ।
Leave a comment