काठमाडौं । स्याङ्जाको वालिङमा सहकारी सम्बन्धी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको आयोजनामा २३ गते सम्पन्न गोष्ठी जिल्ला सहकारी संघ, जिल्ला बचत संघ र वालिङ नगरपालिका स्याङ्जाले समन्वय गरेका थिए ।
गोष्ठीमा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँडको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्यालको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा वालिङ नगरपालिकाका सहकारी शाखा प्रमुख भुवानी तिवारी तथा जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नगरप्रमुख खाँडले यस क्षेत्रका सहकारीका सबल–दुर्बल पक्ष र चुनौतीहरु पहिचान गर्नुपर्ने बताए । नगर प्रमुख खाँडले सहकारीलाई सुशासनयुक्त तवरले अगाडि बढाउन अन्तक्र्रिया गोष्ठी फलदायी हुने बताए । सहकारी रजिष्ट्रार रिजालले साधारण सभालाई वास्तविक बनाई सहकारी संस्थालाई कानुन सम्मत रुपमा सञ्चालन गर्नुपर्ने, सदस्य केन्द्रित र कार्यक्षेत्र केन्द्रित भएर संस्था सञ्चालन एवं व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिए ।
तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्र प्रसाद श्रेष्ठले सहकारी संस्थाको भाखा नाघेको ऋण ५ प्रतिशत भित्रै हुनुपर्नेमा जिल्लामा समग्रतामा भाखा नाघेको मात्र नभई खराब ऋणको प्रतिशत बढिरहेकोले यसतर्फ सम्बन्धित पक्ष सचेत रहँदै कारोबार गर्नुपर्ने बताए ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र वालिङ नगरपालिका सहकारी शाखा प्रमुख भुवानी तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा स्याङ्जा जिल्लाका वालिङ नगरपालिका, भीरकोट गाउँपालिका र गल्याङ नगरपालिकाका विभिन्न सहकारी संस्थाका ८२ जना अध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तोताहरूले नयाँ अध्यायदेशका विषय, सम्पत्ति शुद्धीकरण र सहकारी कानुन एवं जिल्लाको वालिङ क्षेत्रमा सहकारी संस्था र सहकारीको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । साधारणसभा सम्पन्न गर्ने सहकारीको संख्या कम रहेको, कोपोमिसमा आबद्धता कम रहेको, कतिपय सहकारी संस्थाले कर दाखिला नगर्ने वा ढिला दाखिला गर्ने प्रवृत्ति रहेको, सञ्चालक आफ्नै विनियम प्रति अनभिज्ञ रहेको बताएका थिए ।
त्यसैगरी पदाधिकारीबीच कार्यविभाजनमा समस्या रहेको, अस्वाभाविक खर्च गरिने, उत्पादनसँग तादाम्यता हुनेगरी संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण नगरिएको जस्ता समस्या रहेको जनाइएको छ । यसैगरी भाखा नाघेको ऋणको गणना त्रुटिपूर्ण रहने गरेको जस्ता विषय रहेको र त्यस्ता प्रवृत्ति सुधारमा लाग्नुपर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा डिल्लीराम चापागाईं, खगेन्द्र प्रसाद अर्याल, भूपाल बराल, विद्या श्रेष्ठ, नेत्र प्रसाद पाण्डे र पुण्यप्रसाद अर्यालले खराब ऋण असुली प्रक्रियामा नियमनकारी निकायले सहयोग, समन्वय र मार्गदर्शन गर्नुपर्ने धारणा राखेका थिए ।
दीपेन्द्र पराजुलीले वालिङ क्षेत्रमा समस्या देखिन थालेका केही सहकारीका कारण छिमेकी सहकारी संस्थामा समेत त्यसको असर पर्नसक्ने बताउँदै यस विषयमा नगरपालिकाले विशेष पहल गर्नुपर्ने धारणा राखेका थिए । यज्ञप्रसाद अधिकारीले बचतको सीमा राख्न नहुने तर्क गरे ।
मुक्तिप्रसाद पाण्डेले नयाँ अध्यायदेशले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको हकमा सञ्चालकको कार्यकाल साह्रै साँघुरो बनाएकोले यस विषयमा समेत सुधार हुनुपर्ने विचार राखे । कृष्णप्रसाद पंगेनीले कानुन पालना नगर्नेलाई कारबाही हुनुपर्ने कुरामा जोड दिए । सहभागीहरूले उठान गरेका ऋण असुली, धितो मूल्याङ्कन र लिलाम प्रक्रिया, सहकारीका अपचलन र कसूरजन्य कार्य आदि विषयमा सहकारी रजिष्ट्रार र अधिकृतहरुले समाधानका उपायबारेमा चर्चा गरेका थिए ।
Leave a comment