जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर

जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा जिल्लाका सांसदमार्फत सुझाव बुझाउन थालेको छ । संघले अध्यादेशमा ब्यवस्था गरिएका कतिपय प्रावधान संसोधनकालागि जिल्लाका तर्फबाट सांसदहरु मार्फत सुझाव बुझाउन थालेको हो ।

संघले माघ १८ गते, शुक्रबार जिल्लाका सहकारीकर्मीहरु संग वृहत सुझाव संकलन कार्यक्रम गरी प्राप्त सुझावहरु जिल्लाबाट निर्वाचित सांसदहरुलाई बुझाउन थालेको हो । यसैक्रममा संघले ललितपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनलाई प्रतिस्थापन विधेयक मार्फत परिमार्जन गर्न सुझाव बुझाएको छ ।

त्यसैगरी ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उदय शम्शेर राणालाई पनि सुझाव बुझाएका छन् । संघका अध्यक्ष रामहरि बजगाईले अध्यादेशका केही बुँदाहरुले सहकारी संघ संस्थाहरुको विकासमा नकारात्मक असर पार्नसक्ने देखिएकोले सो ब्यवस्थालाई प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्न ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा संघका संचालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संघले माघ १८ गते, शुक्रबार सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशन तथा मापदण्डका विषयमा जिल्लाका सहकारीकर्मीहरुको साझा धारणाका तथा सुझाव संकलन गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष रामहरि बजगाईले तीन महलीय प्रस्तुतीकरण गरेका थिए ।



Leave a comment