काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाका टोली विश्व सहकारी अभियानको पहिलो सहकारी भ्रमणमा पुगेका छन् ।संस्थाका मुख्य प्रबन्धक मिलन ढकाल नेतृत्वमा संस्थाका सदस्यहरु बेलायतको रोचडेल सहकारी म्युजियम पुगेका हुन् ।
साकोस टोलीले बेलायतको ग्रेटर म्यानचेष्टर शहरस्थित ३१ टोडलेन अवस्थित ऐतिहासिक स्थल रोचडेल सहकारी म्युजियमको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै अन्तर सहकारी सम्बन्धका विषयमा छलफल गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) र संयुक्त राष्ट्रसंघको संयुक्त आव्हानमा सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरिए बमोजिम रोचडेल म्युजियम भ्रमण गर्ने अवसर मिलेको मुख्य प्रबन्धक मीलन ढकाले जानकारी दिए ।
सन्न् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउदै गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग लगायत नेपाली सहकारीकर्मीहरुले बेलायतमा रहेको रोचडेल म्यूजियमको भ्रमण गरेको उनले जनाए ।
सहकारीको उद्गम स्थलका रुपमा परिचित रोचडेल म्यूजियम प्रत्येक सहकारीकर्मीको पहिलो छनौटको विषय बन्दै आएको छ । सन १८४४ मा बेलायतको ग्रेटर म्यानचेष्टर शहरको ३१ टोडलेनमा स्थापना भएको रोचडेल पायनियर इक्विटेवल सोसाईटीको अवलोकन विश्वभरका सहकारीकर्मीका लागि सपना बन्ने गरेको छ ।
भ्रमणको क्रममा मूख्य प्रवन्धक ढकालले ब्राडफोर्ड स्थित ब्राडफोर्ड डिस्ट्रिक्ट क्रेडिट युनियनको समेत अवलोकन गरि पोखरा रोयल सहकारी र त्यहाँको क्रेडिट युनियन बीच आपसी सम्बन्ध कायम गर्ने विषयमा छलफल गरेको जनाए ।
संस्थाका शेयर सदस्य तथा नटीङ्हम शहर निवासी ब्रिटिस आर्मीबाट सेवानिवृत्त समाजसेवी अनरेरी लेफ्टिनेन्ट ओमप्रकास गुरुङको समन्वयमा ब्राडफोर्ड र बेडवर्थ बोरोह काउन्सिलका मेयरहरु बेभर्ली मुलानी र बिल हानकुकसँग भेटी अनुभव आदानप्रदान भएको मुख्य प्रबन्धक ढकालले बताए ।
पोखरा रोयल सहकारीमा धेरै सदस्यहरु लाहुरे पृष्ठभूमिको रहेको र हालका अध्यक्ष समेत बेलायती सेनाको सेवानिबृत्त ब्रिटिस सेनाका परिवार भएको सुनाउदा मेयरहरु निकै उत्साहित भएको र छिट्टै नै नेपाल भ्रमण गरि संस्थाको गतिविधि हेर्न चाहेको शेयर सदस्य ओमप्रकास गुरुङले बताएको ढकालले जनाए ।
Leave a comment