काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा राष्ट्रिय सहकारी महासंघमा छलफल भएको छ । महासंघले आज सरोकारवालाहरु संग छलफल गरेको हो । महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित छलफलमा विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेशस्तरीय र जिल्लास्तरीय संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न योगदान पुर्याउने उद्देश्यका साथ छलफल भएको अध्यक्ष मल्लले बताइन । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय–सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष मल्लले अभियानको तर्फबाट महासंघले सबैबाट सुझाव संकलन गरी एकीकृत रुपमा पेश गर्ने तयारी गरिरहेको जानकारी दिइन् ।
अध्यक्ष मल्लले सहकारी अभियानलाई स्वनियमन र सुशासनको मार्गमा लैजान महासंघ प्रतिबद्ध रहेको बताउँदै मापदण्ड तयार गर्ने प्रक्रियामा सहकारी क्षेत्रको सशक्त प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेमा जोड दिइन । छलफलमा सहभागीहरूले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्त विपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा महासंघका महाप्रबन्धक सुरेश थापाले मस्यौदाका कतिपय प्रावधान सहकारी सिद्धान्तसँग मेल नखाने भन्दै संशोधनका लागि शैद्धान्तिक आधार प्रस्तुत गरेका थिए । छलफलमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका सहायक निर्देशक शान्ता गिरीले सुझावलाई नेपाल राष्ट्र बैंकले स्वागत गर्ने बताइन् ।
छलफलमा सहकारी क्षेत्रसँग सम्बन्धित नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले केही प्रावधानले सहकारी क्षेत्रलाई संकुचित पार्ने र संस्थागत क्षति पुर्याउन सक्ने भन्दै प्रतिस्थापन विधेयकमार्फत तिनीहरूलाई संशोधन गर्न सरकारसँग तत्काल पहल गर्नुपर्ने माग गरेका छन् ।
Leave a comment