काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन तालिम दिएको छ । तालिम संघको शिक्षा तथा संस्थागत उपसमितिको आयोजनामा माघ ८ र ९ गते दुईदिन आयोजना गरिएको थियो ।
तालिमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोग गरेको थियो । तालिममा संघका उपाध्यक्ष हरिकृष्ण बल्लले सहकारी मुल्य मान्यता विपरित जारी भएको सहकारी अध्यादेशको संघले बिरोध गर्ने जनाए ।
अध्यादेश सदस्य केन्द्रीत समुदायका सहकारी संस्थाको अहितमा रहेको उनको भनाइ थियो । सहकारी पिडीतहरुको माग बचत फिर्ता भएको र अध्यादेश नभएको स्पष्ट पार्दै उनले सहकारीमा ठगी गरेका व्यक्तिहरुलाई बचाउन या संरक्षण दिने गरीे अध्यादेश जारी भएकोमा विरोध गरे ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा दायित्वको जोखिम सहकारीको छविसँग समेत जोडिने भएकोले सहकारीले भुक्तानी गर्नुपर्ने छोटो र लामो अवधिका दायित्वको उचित व्यवस्थापनका लागि सम्पत्ति दायित्व व्यवस्थापन तालिम महत्वपूर्ण रहेको बताए ।
संघका उपसमिति सदस्य चन्दिका छुकांले संस्थाको सम्पत्ति र दायित्व व्यवस्थापन तालिमबाट सिकेका ज्ञान सिप कार्यरत संस्थामा प्रयोग गरी दक्षता हासिल गर्नुपर्ने बताइन् । प्रशिक्षक श्याम राजा तिमल्सिनाले संस्थाको स्रोत र स्रोतको परिचालनमा ध्यान दिनुपर्ने, वित्तीय विश्लेषण, सम्पत्ति दायित्वको संचित फरक गणना, सम्पत्ति दायित्वको व्यवस्थापनका नीतिगत व्यवस्था लगायतका विषयमा सहजिकरण गरेका थिए ।
तालिममा सहभागीहरुले सैद्धान्तीक, नीतिगत तथा प्रयोगात्मक सहितको सिकाई भएको बताए । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा बरिष्ठ कर्मचारीहरु २४ जनाको सहभागिता रहेको थियो ।
Leave a comment