हाइलाइट

सहकारीले सङ्कलन गरेको दूध बिक्री नभएपछि किसानले बाटोमा बगाइदिए

सहकारीले सङ्कलन गरेको दूध बिक्री नभएपछि किसानले बाटोमा बगाइदिए :: Sahakari Akhabar

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका २ बाघमारेमा रहेको दीप कृषि सहकारी संस्थाले सङ्कलन गरेको दूध बिक्री नभएपछि बाटैमा बगाइदिएका छन् ।

दुग्ध विकास संस्थान कोहलपुर बाँकेलाई बिक्री गर्ने सहमतिअनुसार किसानहरूसँग दूध सङ्कलन गरिएको भए तापनि लामो समय दूध लिन नआएपछि ७ सय लिटर दूध मङ्गलबार बगाइएको संस्थाका अध्यक्ष नेब बहादुर रोकाले बताए ।

डिडिसीसँग यहाँका किसानहरूले उत्पादन गरेको दूध बिक्री गर्ने सम्झौता भएको थियो । त्यहीअनुसार संस्थाले किसानहरूबाट सङ्कलन गरी ल्याएको दूध बिक्री नहुँदा  बगाइएको हो, उनले भने ।

यस्तै उनले दूध लैजान डिडिसी कोहलपुरलाई फोन गर्ने गरेको भए तापनि फोन नै नउठाउने र उठाए पनि गाडी नपाउने गरेको गुनासो गरे।

उनले किसानहरूको दूध बिक्री नहुँदा समस्या भइरहेको समेत बताए । उनले भने, ‘राज्यले किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने हो । तर, यहाँ किसानहरूले उत्पादन गरेको दूध बिक्री नहुँदा विस्थापित हुने अवस्था छ ।

हामीले रहर नभई बाध्य भएर आज ५०र ६० हजार बराबर मूल्यको दूध बगाएका छौँ । यस्तै उनले किसानले निकै दुःखले दूध उत्पादन गर्ने हुँदा त्यसले बजार नपाएको भन्दै तीन तहका सरकारले यसमा ध्यान दिनुपर्नेसमेत बताए ।

आफूहरूले सङ्कलन गर्ने दूध गुणस्तरयुक्त रहनेसमेत उनको भनाइ छ । उनका अनुसार डिडिसी कोहलपुरले महिनाको १५ दिनमा एकपटक आउने र एक हजार लिटर मात्र दूध लैजाने गरेको  थियो । तर, नियमित लिन नआउँदा समस्या भएको हो ।

दैनिक ३ हजार लिटर दूध आफूहरूले सङ्कलन  गर्ने भन्दै उनले डिडिसीले कम मात्रामा लैजाने गर्दा यस्तो समस्या भएको समेत बताए ।
उनका अनुसार स्थानीय बजारमा दूध बिक्रीको व्यवस्था नहुँदा पनि समस्या भएको बताए ।

दूधको गुणस्तर हेरेर किसानहरूले अधिकतम ६७ रुपैयाँ प्रतिलिटर दूधको मूल्य पाउने र एक सय बढी किसानहरू आबद्ध रहेको समेत उनको भनाइ छ ।



Leave a comment