काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्थाको २३ औं वार्षिक साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा संचालक समिति चयन गरेको छ । संस्थाले तीनवटा एकाइ सभा सम्पन्न गरी आज निर्णय प्रमाणित सभा सहित निर्वाचन सहितको साधारण सभा सम्पन्न गरेको हो ।
पहिलो एकाइ सभा लाजिम्पाट काठमाण्डौं, दोश्रो महालक्ष्मीस्थान ललितपुर र तेश्रो एकाइ सभा शहिद स्मृति प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) थानकोटमा आयोजना गरी निर्णय प्रमाणित सभा थानकोट काठमाण्डौमा सम्पन्न भएको हो ।
सभाले १३ सदस्यीय नयाँ सञ्चालक समिति र भानुप्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । संचालक समितको उपाध्यक्षमा हरिहर सिग्देल, सचिवमा शरद कुँवर, कोषाध्यक्षमा मिनाकुमारी खराल पाठक र सहसचिवमा दिलकुमारी महर्जन चयन भएका छन् ।
त्यसैगरी संचालक समितिको सदस्यमा ऋषिराम घिमिरे, गोविन्द बस्नेत, रविना महर्जन, सुबास श्रेष्ठ, इन्द्रबहादुर महर्जन, माधवराज पाण्डे, रुपा थापा मगर र सोहिल मानन्धर चयन भएका छन् । त्यसैगरी लेखा समिति सदस्यमा विना रोकाया र कृष्णप्रसाद लामिछाने चयन भएका छन् । वार्षिक साधारण सभाले विभिन्न १४ वटा प्रस्तावहरु पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले प्रस्तुत गरेको आव २०८० / ८१को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले पेश गरेको आव २०८१ / ८२ को अनुमानित बजेट तथा वार्षिक कार्यक्रम प्रस्तावहरु पारित गरेको छ ।
संस्थामा शेयर सदस्य २१ हजार १९६ जना, शेयर पुँजी २१ करोड २७ लाख , संस्थागत पुँजी ११ करोड,४३ लाख, बचत २ अर्ब ९१ करोड, ऋण लगानी २ अर्ब ३८ करोड १७ लाख रहेको छ भने संस्थाको कुल सम्पत्ति ३ अर्ब ५५ करोड ३२ लाख रहेको छ ।
आगामी वर्ष संस्थाले आकारमा बृद्धि गर्ने भन्दा पनि वित्तीय अनुपातहरुलाई सन्तुलित बनाउले लक्ष्य लिएको जनाइएको छ । संस्थाले आव २०८१ / ८२ मा सदस्य संख्या २२ हजार ५०० र कुल सम्पत्ति ३ अर्ब, ८९ करोड ५२ लाख पुर्याउने लक्ष्य लिएको जनाइएको छ ।
सदस्यता बृद्धि, सुरक्षित वित्तीय अवस्था, जोखिम व्यवस्थापन, वित्तीय समावेशीकरण, डिजिटल रुपान्तरण, सदस्य सन्तुष्टी, सामाजिक उत्तरदायित्व र नियामकीय अनुपालन र सुशासन संरक्षण गर्ने कार्यलाई आफनो प्राथमिकतामा राखेको छ ।
आम जनमानसमा सहकारी प्रतिको बदलिँदो छवीले गर्दा सहकारीको साख जोगाउनु पर्ने चुनौतीहरुको विचमा संस्थाले सहकारीका असल अभ्यासहरुलाई उजागर गर्ने, कार्यक्षेत्र भित्रको समस्याउन्मुख कम्तिमा १ वटा सहकारी संस्थालाई व्यवस्थापन सहयोग उपलब्ध गराउने र थप २ वटा सहकारी संस्थाहरुसंग एकीकरण गर्ने निर्णयहरु पारित गरेको जनाइएको छ ।
Leave a comment