हाइलाइट

लाभान्वित साकोसले १४ प्रतिशत लाभांस दिने

लाभान्वित साकोसले १४ प्रतिशत लाभांस दिने :: Sahakari Akhabar

विराटनगर । विराटनगर १६ रानीमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई १४ प्रतिशत वोनस  दिने भएको छ । सहकारीको शनिवार सम्पन्न पहिलो एकाईगत साधारण सभामा सो कुराको जानकारी गराएको हो ।

सहकारीले दोस्रो तथा माइन्युट प्रमाणिकरण साधारण सभा आउँदो शनिबार २२ गते गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष प्रमोदकुमार साहले जानकारी दिए ।

१४ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रमा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष साहले सहकारीले २५ लाख ३७ हजार रुपैया भन्दा बढी कर बुझाएको बताए ।

प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी १ करोड ४३ लाख ६७ हजार ७ सय रुपैया रहेको छ भने निक्षेप संकलन १७ करोड २२ लाख २१ हजार २७२ रुपैया रहेको छ ।

सहकारीले १८ करोड ७९ लाख ऋण लगानी गरेको छ । सहकारीको विभिन्न कोषमा गरी कोष हिसाब ३ करोड २७ हजार ४९ रुपैया रहेको छ । संस्थाको स्थिर सम्पति ५२ लाख ८४ हजार ५९७ रुपैया रहेको छ।

सहकारीले आफ्ना शेयर सदस्यको मृत्यु भएमा काजक्रिया खर्च, प्राकृतिक प्रकोपको कारणले बस्ने घर क्षति भएमा क्षेतिपूर्ति खर्च, औषधी उपचार खर्च, सुत्केरी भत्ता लगायतका कार्यक्रम सञ्चालन गरी सहयोग गर्दै आएको छ । सिपमूलक तालिमहरु तथा विभिन्न सामाजिक कार्यहरु पनि सहकारीले गर्दै आएको छ ।

साधारण सभाको अवसरमा सहकारीले ईकाई एक र ईकाई दुईका १० जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट ऋणीलाई सम्मान गरेको छ ।

त्यसैगरी सामुदायिक विद्यालयमा आधाभूत तह ९कक्षा ८ सम्म० मा अध्ययनरत शेयर सदस्यको छोराछोरी २० जनालाई एक शैक्षिक सत्रलाई पुग्ने गरी शैक्षिक सामाग्री प्रदान गरेको छ ।

त्यस्तै साधारण सभाको अवसरमा उत्कृष्ट कार्यालय तथा फिल्ड कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सम्मान पाउनेमा कार्यालय सहायक सुरज साह, फिल्ड सहायक सुजाता श्रेष्ठ र फिल्ड सहायक शंकर साह रहेका छन् ।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक संजीव कुमार साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा सहभागिहरुलाई उपाध्यक्ष राजकुमार मण्डलले स्वागत गरेका थिए । सहकारीमा २७ सय ७७ जना शेयर सदस्य रहेका छन् । जसमा महिला १४११ जना रहेका छन् भने पुरुष १३६६ जना रहेका छन् ।



Leave a comment