काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बजगाईले स्थापनाकालदेखि नै संघले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
त्यसैगरी संस्थाहरुको प्रवर्धन तथा सहकारीमैत्री नीति नियम निर्माणको सवालमा पनि सरकारसँग निरन्तर वहस पैरवी गर्दै आएको उनको भनाइ छ ।
संघले सदस्य संस्थाहरुलाई लक्षित गरी शिक्षा, गोष्ठी, तालिम, अन्तरलगानी र स्तरीकरण लगायत प्राविधिक सेवाहरु उपलब्ध गराउँदै संस्थाहरुलाई सवल, सक्षम र दिगो बनाउन लागि परेको उनले बताए ।
कतिपय सहकारी संस्थाको गलत अभ्यास, प्रभावकारी अनुगमन संयन्त्रको कमी र अभियानको तर्फबाट भएको लविङ प्रमभावकारी हुन नसक्दा आम जनमानसमा सहकारी क्षेत्रको छवी गिर्दैगएको उनले उल्लेख गरे ।
सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न बचत ऋणको कारोबार गर्ने संस्थाको दर्ता रोक्नुपर्ने, संस्थाहरुलाई सेवा केन्द्र विस्तारको नाममा ठुलो कार्यक्षेत्र दिन नहुने बताए ।
उनले सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्नुपर्ने तथा एकीकरणलाई प्रोत्साहन दिदै त्यसका लागि बाध्यकारी नीति ल्याउनु पर्ने बताए ।
सहकारी ऐन २०७४ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण, सहकारी प्रवर्धन कोषका साथै बचत तथा कर्जा सुरक्षण कोष सञ्चालनमा आउन नसक्दा पनि समस्या बढेर गएको उनको भनाइ छ ।
चालु आर्थिक बर्ष २०८१ / ०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले केही सहकारी संस्थामा समस्या देखिएकाले समस्या पहिचान तथा समाधानको लागि सहयोगी कक्ष स्थापना गरी समस्या समाधान गर्ने बताए ।
त्यसैगरी यस आर्थिक बर्षमा अन्तरलगानीको कारोबारलाई वृद्धि गरी १ अर्ब १८ पुर्याउने, विभिन्न संघ संस्थाको अवलोकन भ्रमण गरी असल अभ्यास आन्तरिकीकरण गर्ने, संस्था प्रवर्धन तथा विकास गर्ने, शिक्षा तथा तालिम कार्यक्रमलाई नितरन्तरता दिने, म्यानेजर क्लव गठन गर्ने, लघुकर्जा प्रदान गर्ने र निःशुल्क प्रशिक्षक उपलब्ध गराउने जस्ता योजना रहेको जानकारी दिए ।
सभामा कोषाध्यक्ष वसन्त मालीले आर्थिक बर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन र आर्थिक बर्ष २०८१ / ८२ को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
संघले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ७ करोड २६ लाख, जगेडा तथा अन्य कोष १० करोड २४ लाख ९५ हजार, बचत संकलन १ अर्ब ३१ करोड २७ लाख, ऋण लगानी १ अर्ब १ करोड ८० लाख गरी १ अर्ब ४९ करोड ६६ लाख कुल सम्पत्ति पुर्याएको जानकारी दिए ।
गत आर्थिक बर्षको नाफाबाट सदस्य संस्थालाई १० प्रतिशत लाभांश दिने प्रस्ताव सभाले पारित गरेको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक सानुकाजी महर्जनले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संघले सदस्य संस्थाहरुको विकास र प्रवर्धनका साथै पैरवीमा ध्यान केन्द्रीत गर्न र संघमा आवद्ध संस्थाहरुको गुण, क्षमता, वित्तीय सूचक, स्वःव्यवस्थापन, स्वःअनुशासन जस्ता मानकहरुलाई विकास गरी संस्थाहरुको वर्गिकरण गरेर सेवा दिन सुझाव दिएका छन ।
सभामा विभिन्न विधामा संघ संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उत्कृष्ट संस्थाको रुपमा हिमनदी बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ट व्यवसाय पुरस्कारतर्फ गन्तव्य बचत तथा ऋण सहकारी संस्था, संघमा धेरै कारोबार गर्ने संस्थाको रुपमा आयाम बचत तथा ऋण सहकारी संस्था र महिला सहकारी संस्थातर्फ ठेचो महिला बचत तथा ऋण सहकारी संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी पूर्व सञ्चालक सम्मान कुमार खत्री र उत्कृष्ट कर्मचारी सम्मान संघका व्यवस्थापक सन्तोष बजगाईलाई प्रदान गरिएको थियो । संघले पत्रकारिता पुरस्कारबाट नेपालपत्र न्युज डटकमका सम्पादक माधब खड्कालाई नगद र प्रशंसा पत्रले सम्मान गरेको छ ।
सभामा संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले शुभकाना मन्तव्य राखेका थिए भने सचिव श्याकृष्ण महर्जनले सभा सञ्चालन गरेका थिए ।
सभामा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment