काठमाडौं । नवलपुरको गैंडाकोटमा रहेको किसान बचत तथ ऋण सहकारी संस्थाको २९औं बार्षिक साधारण सभाकालागि एकाइगत सभा सम्पन्न भएको छ । संस्थाले एकाई एकको गैंडाकोट–४, एग्रोमार्ट परिसर र एकाई दुईको थारू राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती–१६मा सभा सम्पन्न गरेको छ ।
एकाई सभामा विविध प्रस्ताव माथि बृहत छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको छ भने एकाइहरुको माइन्यूट प्रमाणीकरणका लागि प्रतिनिधि छनौट गरेको छ । साथै संस्थाको मंसिर १ गते सम्पन्न हुने माइन्यूट प्रमाणीत कार्यक्रममा प्रतिनिधिको नामावली संकलन गरेको छ ।
संस्थाको विजयनगर, हिमचुली, मुकुन्दपुर, हर्कपुर, अमरापुरी, समृद्धि भरतपुर, सप्तरङ्गी, सौहार्द, सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्रहरु अन्तर्गत एकाई एकको साधारण सभा संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि अधिकारीले सहकारी क्षेत्रमा किसान साकोसले सदस्यकालागि गरेको कमको प्रसंशा गरे ।
सभामा पूर्व अध्यक्ष तथा संचालक समिति सदस्य श्रीहरि चालिसेले स्वागत मन्तव्य राखेका थिए । उनले वर्तमान अवस्थामा पनि किसान साकोसको सदस्य केन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको बताए । उनले संस्थाका ९० हजार सदस्यहरुले संस्थालाई साथ दिएको हुनाले किसान साकोसलाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याईरहन सकेको बताए । संस्थाका सहसचिव दुर्गा चालिसेले संस्थाको आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रमहरुको बारेमा सभामा जानकारी गराएका थिए ।
सभामा संस्थाका कोषाध्यक्ष राजेन्द्र गौतमले आर्थिक वर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन एवं २०८१ / ८२ को प्रस्तावित लक्ष्य तथा बजेट प्रतिवेदन प्रस्तुत गरेक थिए । प्रतिवेदनमा चालु आर्थिक वर्षको कुल सम्पती ३ अर्व ८० करोड ६५ लाख ६८ हजार १ सय १७ रुपैयाँ रहेको बताए ।
संस्थाले गत आर्थिक वर्षको सेयर पुंजी ३४ करोड ७६ लाख १६ हजार ९ सयलाई बढ़ाएर चालु आर्थिक बर्षमा ४० करोड ४६ लाख ३०हजार पुर्याउने लक्ष्य रहेको जनाए । सभामा लेखा र सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका सदस्य विष्णुप्रसाद सापकोटाले प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थाका अध्यक्ष भोजराज पौडेलले “किसानको शान एकिकृत सहकारी सेवाको अभियान“ भन्ने अभिप्रायका साथ स्थानिय स्तरमा रहेका २४ वटा सहकारी संस्थाहरुलाई एकिकरण गरि सहकारी अभियानलाई नै मार्गदर्शक रूपमा चिनाउन संस्था सफल भएको बताए । उनले थप सहकारीहरु संग पनि एकिकरण गरिने भन्दै किसान साकोसले ३ प्रदेशका ४ वटा जिल्लामा ९० हजार सेयर सदस्यमार्फत करिब ४ अर्ब पूँजी परिचालन गर्न सफल भएको बताए ।
संस्थाको जनमुखी, पञ्चदृष्टि, कावासोती, संबृद्धि, कुनाको, पञ्चवटी, अरुणखोला, दुमकीबास, सर्दी, भविष्यनिर्माण, देवज्योति, पिठोली र विष्णुनगर सेवाकेन्द्रहरुको थारु राष्ट्रिय संग्राहलय परिसर, डण्डा बजार, कावासोती–१६ मा भएको एकाई २ अन्तर्गतको सभामा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेल तथा प्रमुख अतिथीमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरिले गरेका थिए । एकाई २ को कार्यक्रममा स्वागत मन्तव्य संबृद्धि सेवाकेन्द्रका संयोजक गोपाल श्रपालीले गरेका थिए ।
संस्थाका सचिव सरस्वती कंडेलले प्रगति प्रतिवेदन र प्रस्तावित नीति बारे जानकारी दिएकी थिइन् । त्यसैगरी लेखा विभाग प्रमुख अर्जुन पौडेलले आर्थिक प्रतिवेदन तथा प्रस्तावित लक्ष्य र बजेटबारे जानकारी गराए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाको लेखा सुपरिवेक्षण समिति सदस्य प्रकाश खनालले जानकारी दिएका थिए । कार्यक्रममा संस्थाका सेवा केन्द्रका उत्कृष्ट कारोबार कर्ता, उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट महिला समुहलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो ।
Leave a comment