हाइलाइट

सहकारी संघले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात

सहकारी संघले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात :: Sahakari Akhabar

काठमाडौं । बागलुङ दुग्ध उत्पादक सहकारी संघले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुनेगरेको छ । सहकारीमार्फत संकलित दूधबाट संघले उत्पादन गरेको छुर्पीको माग उच्च भएपछि काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको हो । संघले दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने गरेको छ ।

वार्षिक आठ करोड रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने जिल्ला सहकारी सङ्घले आर्थिक वर्ष २०८० / ८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० रुपैंयाँको छुर्पी अमेरिका निर्यात गरेको छ । दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च भएको बताए । उनले दूध, तथा अन्य उत्पादनहरू बागलुङमै खपत भएपनि छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा रहेको बताए ।

दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको अध्यक्ष गौतमको भनाइ छ ।

सहकारीले गत आवमा सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाइएको छ । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ ।

किसान सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताउछन् । सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारी संघले जनाएको छ ।



Leave a comment