काठमाडौं । नगरपालिकाको सिद्धिपुरमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले यस वर्षको “अभिवादन सहकारी सम्मान”स्व.लक्ष्मीबहादुर महर्जनलाई प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले हरेक वर्ष प्रदान गर्दै आइरहेको उक्त पुरस्कार यो वर्ष संस्थाको असोज १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिएको हो ।
संस्थाले यस वर्ष शिक्षा तथा सामाजिक सेवामा समर्पित बुद्धिजिवी स्व.लक्ष्मीबहादुर महर्जनलाई मरणोप्रान्त नगद २५ हजारसहित सम्मान गरेको छ । उक्त पुरस्कार सिद्धी मंगल माध्यामिक विद्यालयका प्रधानध्यापक मिन अछामी र विद्यालय व्यवस्थापन समितिका कार्य वाहक अध्यक्ष शारदा श्रेष्ठले छात्राबृति स्वरुप प्रदान गर्न लक्ष्मीबहादुर महर्जन स्मृती कोष स्थापना गर्ने जनाएका छन् । त्यसैगरी संस्थाले साधारण सभाको अवसरमा संस्कृति जगेर्णा तथा प्रवद्र्धनकालागि बैठक भजन खलःलाई बाद्यबादन सहित सम्मान गरेको छ।
२०७२ साल चैत्र १७ गते साविक डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता गरी संस्थाले आफ्नो कारोबार सुरु गरेको हो । सुरुमा ७७ जना सदस्य र १९ लाख २५ हजार पुँजीबाट संस्था अगाडि बढाएको अध्यक्ष किशोर महर्जनले बताए । सुरुका दिनमा सानो पुँजी र केही सदस्यबाट सुरु भएको संस्था गत आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्म आइपुग्दा २ हजार माथि शेयर सदस्य र २८ करोडको कुल सम्पत्ति पुर्याउन सफल भएको उनको भनाई छ ।
संस्थाले सहकारी ऐनले व्यवस्था गरे अनुसार शेयर लाभांशका साथै संरक्षित पुँजी फिर्ता कोषबाट समेत सदस्यहरुले बचत र ऋणमा गरेको योगदानको आधारमा फिर्ता दिने गरेको छ । सहकारीमार्फत् समाजमा रहेका कमजोर वर्ग, पिछडिएका, जनजाति, गरिब र एकल महलिाहरुलाई आवद्ध गराएर आवश्यक तालिम तथा शिक्षाको माध्यमबाट आर्य आर्जन गर्न सक्ने बनाउनु नै संस्थाको ध्येय रहेको अध्यक्ष महर्जनले जानकारी दिए। त्यसका साथै संस्था बहुउद्देश्यीय रहेकाले जडिवुटी, आयुर्वेदसँग सम्बन्धि खोज अनुसन्धान तथा उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको उनले जनाए ।
संस्थाले स्थापनाकालदेखि नै सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ । स्थानीय मठ मन्दिरदेखि बाजाखलःको सम्बर्धन र प्रवर्धनको काममा अभिवादन नमुना बनेको छ । सहकारीको ७औं सिद्धान्त अनुसार संस्थाले समुदायप्रति चासो दिएर विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गर्नुका साथै रक्तदान, सरसफाई, जेष्ठ सदस्यलाई तिर्थटान र भजन खलःलाई बाद्यवादन उपलब्ध गराउँदै आएको छ।
संस्थाले समाजमा उल्लेख्य योगदान पु¥याउने सामाजिक व्यक्तित्वहरुलाई साधारण सभाको अवसरमा नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गर्ने गरेको छ। त्यसैगरी सदस्यहरुलाई लक्षित गरेर दुर्घटना तथा औषधी उपचार, कर्जा बीमा, सदस्य बिरामी भई अस्पताल भर्ना भएमा उपचार खर्च, सुत्केरी खर्च र सदस्यको मृत्यु भएमा काजक्रिया खर्च उपलब्ध गराउँदै आएको छ।
सभाले यस आर्थिक बर्षको लागि विभिन्न नीति तथा कार्यक्रम तय गरेको छ । संस्थाले यो आबमा मोबाईल बैकिगमा सदस्यहरुको पहुँच अभिवृद्धि गर्ने, रासयनिक मल खरिद विक्रीलाई प्रभावकारी बनाउन कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग सम्झौता गर्ने, सदस्यहरुलाई उद्यमी, व्यवसायी र आत्मनिर्भर बनाउन वित्तीय साक्षरता, सहकारी शिक्षा शिविर र विषयगत तालिमहरु सञ्चालन गर्ने, उदेश्य मिल्ने संस्थासँग एकीकरण गर्ने र स्थानीय सरकारसँग मिलेर शिक्षा, स्वास्थ्य, खेलकुद र विभिन्न रचनात्मक कार्यहरु अगाडि बढाउने नीति लिने भएको छ।
सभामा संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड १७ लाख १० हजार, जगेडा तथा अन्य कोषमा १ करोड २८ लाख ३१ हजार, बचत संकलन २८ करोड ६३ लाख ६४ हजार र ऋण लगानी २८ करोड ५४ लाख २७ हजार गरेको छ । संस्थाले सहकारी बैंकबाट ६ करोड २९ लाख वाह्य ऋण रहेको जनाइएको छ । संस्थाको त्यस अवधिमा कुल सम्पत्ति ४१ करोड ५६ लाख १९ हजार पुगेको जानकारी दिइएको छ ।
Leave a comment