हाइलाइट

महानगरद्वारा सहकारी व्यवस्थापनसम्बन्धी छलफल

महानगरद्वारा सहकारी व्यवस्थापनसम्बन्धी छलफल :: Sahakari Akhabar

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरले नगरका सहकारीका अध्यक्ष र व्यवस्थापकसंग अन्तक्रिया सुरु गरेको छ।

आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भएको बताए । ‘सहकारीको मर्म र भावना विपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी आन्दोलन नै बद्नाम भएको छ,’ उनले भने, ‘अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास गिर्दै गएको छ ।’

जनतामा सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्ने भन्दै गरिबी निवारण र रोजगारी सिर्जनामा समेत सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए ।

उनले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुन अनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने बताए । पराजुलीले बचतकर्ताहरुबाट संकलित रकम सञ्चालकहरुले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारीमा संकट आएको बताए ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागिपरेको बताए । वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिए ।

जिल्ला सहकारी संघ मोरङका कोषाध्यक्ष अमृत गुरुङ, राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाका प्रबन्धक चिरञ्जीवि तिम्सिना, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेलले सहकारीप्रति समाजमा नकारात्मक भावना पैदा भएकाले त्यसलाई चिर्नु जरुरी रहेको बताए ।

महानगर क्षेत्रभित्र सञ्चालित १७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी ११६ जनालाई कार्यक्रममा सहभागी गराइएको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिइन । उनीहरुलाई प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशका रजिष्ट्रार हरिबहादुर खत्रीले सहकारीका ऐन, नियम, सञ्चालन गर्दा आइपर्ने समस्यालगायतका विषयमा जानकारी गराए ।



Leave a comment