मध्यपुर थिमि सहकारीद्धारा थिमि भैललाई सम्मान

मध्यपुर थिमि सहकारीद्धारा थिमि भैललाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ । आनुष्ठानिक नाच मध्येको थिमि भैलःलाई जीवन्त राख्ने, प्रवद्र्धन गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने क्षेत्रमा ताहाननि टोलको भूमिकालाई मूल्यांकन गरी संस्थाले सम्मान गरेको हो। संस्थाको १७ औं वार्षिक साधारणसभामा थिमि भैलः २०८१ व्यवस्थापन समितिका माइला प्रजापति तथा कलाकारहरुलाई दोसल्ला ओडाएर कदरपत्रसहित सम्मान गरेको हो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र सञ्चालित सम्पूर्ण सहकारीलाई नगरपालिकाको सहकारी पुँजी संरक्षित कोष, न्यायाधिकरण र स्थिरीकोषमा आवद्ध हुन आह्वान गरे । सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नगरपालिकाले सहकारी ऐन र नियमावली बनाएर काम गरिरहेको बताए । उपप्रमुख श्रेष्ठले समस्यामा रहेका समुदायप्रति उत्तरदायि सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा सहकारी ऐन मस्यौदाकार रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण १८ करोड ९५ लाख ८० हजार ८३२ रुपैंयाँ र चुक्ता पुँजी १ करोड ४६ लाख ९७ हजार ८०० सय रुपियाँ रहेको वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्पूर्ण विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको समेत जानकारी दिइएको थियो ।

संस्थाको आर्थिक वर्ष २०८० / ८१ मा सेयर सदस्यहरु १ हजार ५०३ जना रहेको जानकारी दिइयो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षा उपसमितिका सदस्य नरेन्द्र श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण सुन्दर प्रजापतिले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



Leave a comment