हाइलाइट

अन्नपूर्ण बहुमुखी सहकारीको २७औं साधारण सभा सम्पन्न

अन्नपूर्ण बहुमुखी सहकारीको २७औं साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको २७औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्याम सुन्दर बस्नेतले सभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रका लागि वितेका केही वर्ष इतिहासकै कठिन वर्ष भएको बताए ।

असहज परिस्थितिमा समेत सञ्चालक समिति, लेखा समिति र कर्मचारीको सामुहिक प्रयासले कठिन अवस्थालाई पार गर्न सकेको उनले जनाए । त्यसैगरी सदस्यहरुले संस्थाप्रति गरेको विश्वास र निरन्तर कारोबारका कारण संस्थाले वित्तीय संकटलाई पार गर्न सफल भएको उनले बताए ।

संस्था समुदायमा आधरित भएर सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको र आन्तरिक नीति विधिका साथै सहकारी ऐन नियमको पूर्ण पालना गरेर अगाडि बढेको उनले जनाए । संस्थाका सचिव राजन प्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्यक्रमको बारेमा सभामा जानकारी दिए ।

संस्थाले गत आवमा तनाव व्यवस्थापन तालिम, सौन्दर्य तालिम, जेष्ठ सदस्य तिर्थाटन, कृषि बीउविजन विरतण जस्ता कार्यक्रम सञ्चालन गरेको उनले बताए । आर्थिक मन्दीका कारण सदस्यहरुको व्यापार व्यवसायमा आएको मन्दीलाई मध्यनजर गरेर संस्थाले ब्याजमा छुट दिएको उनले जनाए ।

संस्थाकी कोषाध्यक्ष मिराकुमारी भट्टराईले आर्थिक वर्ष २०८० / ८१को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म ४ हजार १५४ जना सदस्यबाट ९ करोड ११ लाख ९५ लाख  शेयर पुँजी संकलन गरेको उनले जनाइन ।

संस्थाको जगेडा कोषमा ३ करोड, बचत संकलन ४४ करोड ९९ हजार र ऋण लगानी ५४ करोड ९१ लाख रहेको छ । संस्थाको कुल सम्पति ७१ करोड ८६ लाख पुगेको छ भने संस्थामा १९ प्रतिशत माथि तरलता रकम रहेको छ । संस्थाले गत आवमा १ करोड ३१ लाख खुृद बचत गर्न सफल भएको छ।

संस्थाले सदस्यहरुलाई कृषि पेशामा जोड्नको लागि आवश्यक मल बीउको व्यवस्था गरिदिने जनाएको छ । ग्रामीण क्षेत्रका सदस्यहरुका लागि कृषि उत्पादनमा वृद्धि गर्न सघाउने उदेश्यका साथ आवश्यक पर्ने रासयनिक मल, बीउ तथा कृषि तालिम उपलब्ध गराउने भएको हो । समयमा रासायनिक मलबीउ र बजारको अभावले गर्दा कृषकहरुमा कृषिप्रतिको आकर्षण घटिरहेका बेला संस्थाले भने उदाहरणीय कार्य गर्ने जनाएको छ ।

संस्था बहुमुखी भएकाले २०७५ सालदेखि भक्तपुरको चारदोबाटोमा अन्नपूर्ण तरकारी तथा फलफुल बजार सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरुले उत्पादन गरेका कृषि उपजहरुलाई उक्त बजारबाट विक्रीको व्यवस्था मिलाएको संस्थाका अध्यक्ष बस्नेलले जानकारी दिए । उक्त बजारबाट ५ सयले प्रत्यक्ष रोजजगारी पाइरहेको र १५ सय जनालाई अप्रत्यक्ष रोजगारी मिलेको उनको भनाई छ।

आगामी बर्षहरुमा बजारमार्फत अझ धेरैलाई रोजगारी सृजना गर्ने संस्थाको लक्ष्य रहेको उनले जनाए । संस्थाको सम्पन्न २७ औं साधारण सभाले यस आर्थिक बर्षको लागि पारित गरेको कार्यक्रम अनुसार सदस्यहरुको माग आवश्यकता अनुसार व्यवसायिक बन्न सीपमुलक तालिम समेत प्रदान गर्ने जनाएको छ। त्यसैगरी सदस्यहरुलाई लक्षित गरेर कानुनी साक्षरता कार्यक्रम, सहकारी शिक्षा शिविर, कानुनी साक्षरता जस्ता विविध सदस्य केन्द्रित कार्यक्रम गर्ने लक्ष्य संस्थाको छ।



Leave a comment