हाइलाइट

उद्धार र राहतका कार्यमा जुट्न सहकारीकर्मीलाई बागमती प्रदेश सहकारी संघको अपिल

उद्धार र राहतका कार्यमा जुट्न सहकारीकर्मीलाई बागमती प्रदेश सहकारी संघको अपिल :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघले बाढी, पहिरो र डुबानमा परेका पिडितहरुका लागि उद्धार र राहतका कार्यमा जुट्न सहकारीकर्मीलाइ आह्वान गरेको छ । संघले देश विषम परिस्थितिमा रहेकोले समस्यामा परेका व्यक्ति तथा संघ संस्थाहरुलाई सहयोग गरि मानवीयताको प्रदर्शन गर्नका लागि संघमा आबद्ध संघसंस्थाका सदस्यहरुलाई विशेष आह्वान गरेको हो।

संघले विज्ञप्ती प्रकाशन गरी मुलुकको विभिन्न भागमा असोज ११ र १२ गते निरन्तर रुपमा भएको वर्षाको कारण गएको बाढी, पहिरो र डुबानमा परेका ब्यक्ति तथा परिवारलाई सहयोग गर्न प्रदेशका सवै सहकारी संघ संस्थाका सहकारीकर्मीहरुलाई आह्वान गरेको छ ।

संघले अप्ठेरोमा परेका व्यक्तिहरुको उद्धार गरि अत्यावश्यक सामानहरुको व्यवस्थापन सहित राहतको लागि जुट्नुपर्ने अवस्था रहेको बताएको छ । साथै विपत्तीबाट सहकारीकर्मीहरुको व्यक्तिगत र सहकारी संघसंस्थाहरुको क्षतीको विवरणहरु समेत अद्यावधिक गरि तथ्यांक संकलनमा जुट्नका लागि पनि सहकारीकर्मीहरु लाग्नुपर्ने भनेको छ।

बागमती प्रदेशभित्रका ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, धादिङ, काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप लगायतका जिल्लाहरुमा बाढी र पहिरोले व्यापक रुपमा धनजनको नोक्शान गरेकोले समाजको अभिन्न अंगको रुपमा रहेको सहकारीले विपदमा साथ र सहकार्यको अभ्यास गरेर देखाउनुपर्ने विज्ञप्तीमा भनिएको छ ।

संघले सहकारीको आवश्यकता विपत्तीको समयमा अझ बढी हुने कुराको दृष्टान्त बन्नुपर्ने वर्तमान समयको आवश्यकता देखिएकोले वर्तमान समयमा सहकारीप्रति देखिएको नकारात्मक धारणलाई चिरेर समाजलाई सकारात्मक सन्देश दिनका लागि पनि सहकारीकर्मीले उद्धार र राहतका लागि ठोस कार्य गरेर देखाउनुपर्ने बताएको छ।

संघले प्रदेश भित्रका १३ वटै जिल्लाका प्रारम्भिक संस्थाहरु, विषयगत जिल्ला सहकारी संघहरु, जिल्ला सहकारी संघहरु र विषयगत प्रदेश सहकारी संघहरुमार्फत् सरकारी संयन्त्रसँग समन्य गरि आवश्यक सहयोगका लागि विपत्तीबाट सदस्य संघसंस्थाहरुमा भएको क्षतीको विवरण संघको ईमेल मार्फत् उपलब्ध गराईदिन अनुरोध गरेको छ ।



Leave a comment