काठमाडौं । जडीबुटीमा रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुदिपकुुमार खनालको अध्यक्षता एवं काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
प्रमुख आतिथि पनेरुले सहकारी अभियानले वृहत उद्देश्य बोकेको भए पनि त्यसको महत्वलाई आम सदस्य माझ बुझाउन नसक्दा सहकारीप्रति गलत धारणा विकास भएको बताए । सहकारीले समाजमा धेरै योगदान गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी भएको उनको भनाइ थियो । संस्थामा गलत हुन आँटेको छ भने खबरदारी गर्नुपर्छ तर खबरदारीसँगसँगै जिम्मेवारी पुरा गर्न सदस्यहरु पनि लाग्नुपर्ने उनले बताए ।
सभामा संस्थाका अध्यक्ष खनालले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन भइ वित्तीय पहुँचबाट टाढा रहेका सदस्यहरुलाई एकिकृत गरी सेवा प्रदान गर्दै आएको बताए । समाजमा छरिएर रहेको ससानो पुँजीलाई बचतको माध्यमबाट एकीकृत गरी सदस्यहरुको वित्तीय आवश्यकता परिपूर्तिको साथै आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि समुदायको भरपर्दा माध्यमका रुपमा संस्थाले काम गर्दै आएको उनले जनाए ।
संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम प्रदान गरी सहकारीका बारेमा सचेतना जगाउनुकासाथै सामाजिक उत्तरदायित्व बहन समेत गर्दै आएको खनालको भनाई छ । सदस्यहरुको माग र आवश्यकता अनुसार संस्थाले विभिन्न क्षेत्रमा ऋण प्रवाह गर्दै आएको उनले जानकारी दिए ।
सभामा कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आर्थिक वर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक मन्दीका बीचमा पनि संस्थाको समग्र सूचांकहरुमा सुधार भएको उल्लेख गरे । संस्थाले गत असार मसान्तसम्म शेयर पुँजी ६.२५ प्रतिशतले वृद्धि गरी १ करोड ६१ लाख ८३ हजार, बचत संकलन २७.६५ प्रतिशतले वृद्धि गरी ५ करोड ७० लाख ८७ हजार र ऋण लगानीमा ५ प्रतिशतले वृद्धि गरी ५ करोड ४६ लाख २४ हजार पु¥याएको सभामा उनले जानकारी दिए ।
संस्थाको जगेडा कोषमा ५४ लाख ४० हजार र अन्य कोषहरुमा १२ लाख १७ हजार रहेको छ । संस्थाले त्यस अवधिमा १० लाख ९१ हजार खुद बचत गर्न सफल भएको छ । संस्थाको कुल वासलात ८ करोड ४१ लाख ९१ हजार पुगेको छ ।
Leave a comment