हाइलाइट

जनउपकार साकोसको २५ औं साधारण सभाको काठमाण्डौ एकाइ सभा सम्पन्न

जनउपकार साकोसको २५ औं साधारण सभाको काठमाण्डौ एकाइ सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । दोलखाको गौरीशङ्कर गाउँपालिका २ जुँगूमा मुख्य कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभाको काठमाण्डौ एकाइ सभा सम्पन्न भएको छ । सभामा संस्थाका कार्यवाहक अध्यक्ष बद्रीबहादुर बुढाथोकीको अध्यक्ष्यता तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा प्रमुख अतिथि सापकोटाले विकसित मुलुकहरुको आर्थिक फड्को सहकारी मार्फत भएको बताए । उनले जापान, अमेरिका, कोरिया लगायतका धेरै राष्ट्रले सहकारीको माध्यमबाट आर्थिक समृद्धि हासिल गरेकोले नेपालले पनि सहकारीमार्फत आर्थिक सवलीकरण गरी समुन्नत समाज निर्माण गर्न सक्ने जनाए ।

अध्यक्ष सापकोटाले आन्तरिक नीति, विधि र सिष्टम बनाएर सञ्चालन भएका सहकारी संस्थामा कुनै समस्या नभएको भन्दै बागमती प्रदेशमा धेरै सहकारी रहेको र समस्या पनि यही प्रदेशमा धेरै रहेको बताए । दोलखा, मकवानपुर लगायतका केही जिल्लाका सहकारी संस्थामा कुनै समस्या नरहेको भन्दै उनले कुल सहकारी संस्थाको २ प्रतिशतमा मात्रै समस्यामा रहेको बताए ।

नेफ्स्कून र बागमती प्रोस्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रममा सहभागी भएका संस्थाहरुमा समस्या नरहेको समेत उनले दावी गरे । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुलाई सेवा दिन खुलेका संस्थाहरुमा कहिल्यै समस्या नआउने उनको भनाई छ ।

जनउपकार सहकारीले पनि सदस्यहरुलाई सेवा प्रदान गरी आर्थिक रुपमा सवल बनाउन लाग्नु पर्नेमा उनको जोड छ । युवा पुस्तालाई सहकारीमा आवद्ध गर्न संस्थालाई प्रविधिमैत्री बनाउँदै जानु पर्ने अध्यक्ष सापकोटाले बताए ।

संस्थाका कार्यवाहक अध्यक्ष बुढाथोकीले बैकिङ पहुँचबाट टाढा रहेका ग्रामीण भेगका जनतालाई नवीनतम प्रविधिको प्रयोग गरी  वित्तीय सेवा प्रदान गर्दै आएको बताए । उनले समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएको र सदस्यहरुको विश्वासले संस्थाले सफलता प्राप्त गर्न सकेको उल्लेख गरे ।

संस्थाले यस आर्थिक बर्षमा सदस्यलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने भएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा अन्य ऋणको तुलनामा २ प्रतिशत ब्याजदर कम गरी ५ लाखसम्म ऋण लगानी गर्ने जनाइएको छ।

त्यसैगरी संस्थामा सदस्य बनेको १५ बर्ष पुरा भएका ७५ बर्ष नाघेका सदस्यहरुलाई मासिक भत्ता उपलब्ध गराउने, जटिल रोग लागेका सदस्यलाई उपचार खर्च दिने र प्राकृतिक विपतिमा परेका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान गर्ने संस्थाले नीति लिएको छ । संस्थाले सुत्केरी भत्ता, उपचार तथा काजकृया खर्च, बृद्धा भत्ता, मृतक परिवार राहत र पूर्ण अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको छ।

संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ३ करोड ७५ लाख ७७ हजार, बचत संकलन ४० करोड ३४ लाख, ऋण लगानी ३४ करोड ५० लाख गरी कुुल कारोबार ४९ करोड पु¥याएको छ । संस्थाको जगेडा तथा अन्य कोषमा गरी ३ करोड १४ लाख पुगेको छ । संस्थामा ७ हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन् । संस्थाको एकाइगत रुपमा सुरु भएको साधारण सभा असोज २१ गते समापन हुनेछ । सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्ने छ ।



Leave a comment