विराटनगर । ईश्वर साना किसान कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा मंगलबार कटहरी ४ को कुशवाहा सामुदायिक भवनमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारीबाट साना किसान कृषि सहकारी अभियानमा रुपान्तरण भएको सहकारीले किसान भएको क्षेत्रमा गएर आफ्नो साधारण सभा सम्पन्न गरेको हो । साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा पूनः धर्मलाल सिंह कोइरीलाई सर्वसहमत चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा संगीता काफ्ले सर्वसहमत चयन भएकी छिन् भने सञ्चालक समितिमा लालबहादुर अधिकारी, दीपा पौडेल, चन्द्र प्रसाद वंजरा, निर्मला सापकोटा, हरिनाथ सिंह, सन्तोषी सोरेन, रेखा कुमारी निरौला, कालुराम राजवंशी र राजेश कुमार भगत चयन भएका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोलानाथ कटुवाल सर्वसहमत चयन भएका छन् भने सदस्यमा धन प्रसाद ढकाल र शोभा दाहाल चयन भएका छन् ।
विभिन्न सम्मान
सहकारीले आफ्नो १३ औं बार्षिक साधारण सभाको अवसरमा विभिन्न सम्मान गरेको छ । ७० बर्ष उमेर समूहका २३ जना जेष्ठ माता पितालाई सम्मान गरेको छ । सहकारीले शेयर सदस्यको मातापितालाई सम्मान गरेको हो । त्यस्तै ७० बर्ष उमेर पुरा भएका ३ जना शेयर सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेमा रामेश्वर सिंह कोइरी, भगवती दाहाल र गोविन्द बहादुर पौडेल गरेका छन् ।
सहकारीले शेयर सदस्यका छोराछोरी मध्ये एसईई परिक्षामा सबैभन्दा बढी नम्बर ल्याउने अमन कुमार साह र अनुष्का निरौलालाई सम्मान गरेको छ भने शेयर सदस्यका छोराछोरी मध्ये दश जोड दुई परिक्षामा सबैभन्दा बढी अंक ल्याउने आशुतोश लुईटेल र सभ्यता घिमिरेलाई सम्मान गरेको छ ।
उनीहरुलाई १५ सय नगद सहित प्रमाण पत्र र डायरी सहित सम्मान गरेको हो । त्यसैगरी बाल बचतकर्ता रोशिक घिमिरे र नितिन राजवंशीलाई सम्मान गरिएको छ भने एकल महिला उचन्ती कुमारी साहलाई सम्मान गरिएको छ । सक्रिय सदस्य राजपति सिंह र लगनशील कर्मचारीको रुपमा ऋण प्रमुख कैलाश कोइरालाई सम्मान गरिएको छ।
२०६९ साल जेठ २ गते दर्ता भई बचत तथा ऋणको रुपमा विराटनगर र कटहरी कार्यक्षेत्र बनाई आफ्नो कारोबार सुरु गरेको सहकारीले २०८० असोज ८ गते उद्देश्य परिवर्तन गरि साना किसान कृषि सहकारी अभियानमा रुपान्तरण भएर काम सुरु गरेको सहकारीका प्रबन्धक बलबहादुर घिमिरेले जानकारी दिए ।
सहकारीका अध्यक्ष धर्मलाल सिंह कोइरीको अध्यक्षता तथा नेपाल कृषि सहकारी केन्द्रिय संघका सञ्चालक तथा कोशी प्रदेश कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष खगेन्द्रराज भण्डारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि भण्डारीले सहकारी संस्था आफै स्वनियममा चल्ने संस्था रहेको बताए । उनले सहकारीले आफ्नो नीति, विधि विधान र कार्यक्रम आफै बनाउने बताए ।
प्छिल्लो समयमा बचत तथा ऋणमा बढी समस्या देखिएको बताउँदै उनले सहकारीका सञ्चालक समिति र सहकारीका कर्मचारीले आफ्नो भूमिका मात्र बुझेर इमान्दारिताका साथ काम गरे भने केही समस्या नआउने उनको बुझाई छ ।
एकले सकिदैन भनेर मिलेर काम गर्नको लागि साना किसान कृषि सहकारी अभियानको सुरुवात भएको बताउँदै भण्डारीले साना किसान कृषि सहकारीको मोडल समूह गठन गरेर अघि बढ्ने रहेको बताए । ‘समूह भनेको सदस्यको पिर, दुख, सुखको साथी हो । एकले अर्काको समस्यामा छलफल गरेर अघि बढ्ने हो’, उनले भने, ‘कार्यसमितिका सञ्चालक जति जना हुन्छन् त्यतिनै अन्तर समूह गठन हुन्छ।
त्यसले तलको समूहलाई चलायमान गराउँछ । समस्याहरु लिएर बोर्ड वैठकमा छलफल गर्छन् । यसले गर्दा किसानका वास्तविक समस्या आउँछन् र सोही अनुसार कार्यक्रम बनाउन सहकारीलाई सजिलो हुन्छ।’ अध्यक्ष भण्डारीले साना किसान कृषि सहकारीले आफ्ना सबै सदस्यको आय बढाउने र उनीहरुलाई उत्पादनसँग जोड्ने उदेश्य रहेकोमा जोड दिए ।
त्यस्तै साधारण सभामा बोल्दै जिल्ला कृषि सहकारी संघ लिमिटेड मोरङका अध्यक्ष रविन्द्र आचार्यले साना किसान कृषि सहकारी अभियानले गरेको काम नेपाल सरकारले पनि अनुसरण गरेको बताए । साना किसान कृषि सहकारीले किसानहरुसँग प्रत्यक्ष जोडिने र उनीहरुको हितमा काम गर्ने उनले बताए । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय इटहरीका प्रमुख सुभाष गौतमले संस्थाले सदस्यको आर्थिक वृद्धिदर बढाउने देखि नेतृत्व विकासमा समेत काम गर्ने गरेको बताए ।
सहकारीको शेयर १ करोड ८० लाख बढी
साधारण सभामा सहकारीका अध्यक्ष कोइरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कालुराम राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भोला नाथ कटुवालले प्रस्तुत गरेका थिए ।
प्रस्तुत आर्थिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पूँजी १ करोड ८० लाख ३१ हजार ३ सय रुपैया रहेको छ । आर्थिक बर्ष २०७९ / ८० मा सहकारीको शेयर पूँजी १ करोड ६८ लाख ३७ हजार २ सय रुपैया रहेको थियो । सहकारीले आर्थिक बर्ष २०८० / ८१ मा ७.०९ प्रतिशतले शेयर रकम बृद्धि गरेको छ । त्यसैगरी संस्थामा ७ करोड ८५ लाख ८७ हजार ३२१ रुपैया निक्षेप रहेको छ ।
सहकारीले १३ करोड ०८ लाख ३१ हजार १४२ रुपैया ४२ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा १७९७ जना शेयर सदस्य रहेका छन् भने सहकारीले ९२ वटा समूह गठन गरिसकेको छ । सहकारीको जगेडा कोषमा ४९ लाख ६१ ह्जार ८०१ रुपैया ७२ पैसा रहेको छ । प्रतिवेदनका अनुसार सहकारीले १ करोड ३९ लाख ८२ हजार ६३० रुपैया व्याज आम्दानी गरेकोमा ५४ लाख ०३ हजार ०८५ रुपैया ८९ पैसा विभिन्न बचतमा व्याज खर्च गरेको छ ।
सहकारीले सदस्य राहत व्यवस्था, सदस्य मृत्यु राहत, सदस्य उपचार राहत, प्रसूति भेटघाट तथा बधाई कार्यक्रम, नवजात शिशु उपहार, सामाजिक उत्तरदायित्व, जेष्ठ मातापिता सम्मान, जेष्ठ सदस्य सम्मान, छात्र / छात्रा सम्मान, बाल बचतकर्ता सम्मान, एकल महिला शेयर सदस्य सम्मान, सक्रिय सदस्य सम्मान, लगनशिल कर्मचारी सम्मान, स्थापना दिवस कार्यक्रम, सहकारी भ्रमण, ५० प्रतिशत लागत साझेदारी कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको प्रतिवेदनमा जनाईएको छ । सहकारीले आर्थिक बर्ष २०८१ / ०८२ मा सदस्य सुरक्षाका लागि म्यादी जीवन बिमा कार्यक्रम पनि सञ्चालन गर्ने र पशु बिमा कार्यक्रम पनि सञ्चालन गर्ने प्रतिवेदनमा जनाईएको छ ।
Leave a comment