हाइलाइट

सगुन साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, १५प्रतिशत लाभांश पारित

सगुन साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, १५प्रतिशत लाभांश पारित :: Sahakari Akhabar

काठमाडौं । सर्लाहीको सगुन बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा पूर्व मन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा प्रदेश सांसद जवाहरलाल कुशवाह, हरिवन नगर प्रमुख रमेश बुढाथोकी, बरहथवा नगरप्रमुख कल्पना कट्वाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सभामा संस्थाका अध्यक्ष ढकालले प्रस्तुत गरेको १६ प्रतिशत लाभांश प्रस्तावलाई १५ प्रतिशत लाभांश सर्वसम्मतिले पारित गरेको छ ।

संस्थाले सामाजिक कार्य अन्तरगत नेपाल रेडक्रम सोसाइटी प्रादेशिक रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले  रक्तदान गरेका थिए । सभामा अध्यक्ष ढकालले सदस्यहरूले समयमा ऋणको साँवाब्याज भुक्तानी नगर्दा, सदस्यले मागेका बेला बचत रकम फिर्ता गर्न अधिक तरलता रकम राख्नुपरेकोले संस्थाको आम्दानी खुम्चिएको बताए ।

उनले संस्थाले जोखिमलाइ विश्लेषण गरी ऐन कानुनको पूर्ण रूपमा पालना गरेकाले संस्थालाइ सुरक्षित रूपमा अगाडि बढाउने सकेको बताए । सहरकेन्द्रीत केही ठुला सहकारीको व्यवस्थापकिय कमजोरी र गलत नियतका कारण सदस्यको बचत फिर्ता गर्न नसक्दा त्यसको प्रभाव समुदायमा आधारित सहकारी संस्थाहरुमा समेत परेको उनको भनाई छ।

सभामा संस्थाका सचिव राजकुमार उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सदस्यको हितलाइ केन्द्रमा राखेर बचतको माध्यमबाट पुँजी एकीकृत गरी सदस्यहरूको आर्थिक र सामाजिकस्तर माथि उकास्न संस्थाले काम गर्दै आएको बताए ।

संस्थाको आव २०८० / ८१ अन्त्यसम्म शेयर पुँजी १४ करोड ८४ लाख २५ हजार रहेको छ भने जगेडा कोषमा १४ करोड ८१ लाख रकम पुगेको छ । त्यस अविधमा संस्थाले बचत संकलन १ अर्ब १५ करोड ३३ लाख र ऋण लगानी १ अर्ब १८ करोड ४८ लाख रहेको छ । संस्थाले त्यस अवधिमा ३ करोड ३७ लाख खुद मुनाफा गरेको छ । संस्थामा १२ हजार ९२० सदस्य आवद्ध रहेको संस्थाले १ अर्ब ५६ करोड ३७ लाख कुल कारोबार गर्न सफल भएको जनाएको छ ।



Leave a comment