काठमाडौं । बिरुवा भक्तपुरमा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अथिति नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापा थिए ।
सभामा अध्यक्ष घिमिरेले मुलुकको अर्थतन्त्रमा आएको मन्दीका कारण वित्तीय क्षेत्रमा तरलताको चाप, उच्च ब्याजदर,न्युन पुँजीगत खर्च,पुँजी बजारको गिरावट र घर जग्गा कारोबारमा आएको शिथिलताका कारण सहकारी क्षेत्रमा पनि थुप्रै चुनौतीहरु थपिएको बताए ।
सुशासनमा नचलेका केही सहकारी संस्थाका कारण सिङ्गो सहकारी अभियानप्रति आम जनमानसमा भ्रम सृजना भएकाले त्यसलाई चिर्न सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए । अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा सहकारीलाई लिएकाले आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र मितव्ययिताको सिद्धान्तद्वारा शुसासन कायम गर्न नीति,विधी र प्रविधिको उच्चतम प्रयोग अनिवार्य गर्नु पर्ने उनले बताए ।
संस्थाले वित्तीय साक्षरता, सहकारी शिक्षा,बचत तथा ऋणका सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यको वित्तीय आवश्यकता परिपूर्तिका साथै उनीहरुलाई सबल बनाउन लागि परको उनले सभामा जानकारी दिए । सभामा जेष्ठ सदस्य, एसईई परिक्षामा उत्कृष्ट अंक हाँसिल गर्ने विद्यार्थी, उत्कृष्ट वचत केन्द्र, उत्कृष्ट वचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मानित गरेको संस्थाले जनाएको छ ।
संस्थाले साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो । उक्त अवसरमा ५७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । साधारण सभामा प्रस्तुत सदस्यलाई १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
संस्थाले गत आर्थिक बर्षमा ३ करोड ३३ लाख ४७ हजार सञ्चालन मुनाफा आर्जन गरेको थियो । संस्थाले ३४ लाख ४४ हजार आयकर व्यवस्था गरी २ करोड ९९ लाख २ हजारलाई विनियम अनुसार विभिन्न कोषहरुमा बाँडफाड पश्चात शेयर लाभांश कोषमा १ करोड ८ लाख ६० हजार विनियोजन गरेको सभामा जानकारी दिइयो ।
त्यसैगरी संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा पनि ४२ लाख ५ हजार छुट्याएको छ भने उक्त कोषबाट सदस्यहरुले ऋण र बचतमा गरेको योगदानका आधारमा ६० र ४० प्रतिशत फिर्ता दिने भएको छ । संस्थाका सचिव दिपककुमार न्यौपानेले सहकारी क्षेत्रमा असहज परिस्थिति रहे पनि संस्थाको शेयर पुँजीमा ८ प्रतिशत, बचतमा १४ प्रतिशत र कोषहरुमा १४ प्रतिशत गरी कुल सम्पत्तिमा १५ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।
संस्थाले सदस्य र समुदायमैत्री रहेर वित्तीय कारोबार गर्दै आएकाले सहकारी क्षेत्रमा रहेको असज परिस्थितिका बाबजुद पनि वित्तीय सुचाङकहरुमा वृद्धि गर्न सकेको उनको भनाई छ । संस्थाले यस आर्थिक बर्षमा क्यु आर कोड, मोबाइल एप्स,मिसकल सेवा जस्ता प्रविधि मैत्री सेवा सञ्चालनमा ल्याउने भएको छ ।
त्यसैगरी सदस्यहरुमा सीप विकास गर्न विभिन्न तालिम तथा जनचेतना विकास गर्र्न शिक्षा शिविर सञ्चालन गर्ने,बाल बचतकर्तालाई लक्षित गरी हाजिर जवाफ,निबन्ध प्रतियोगिता आयोजना गर्ने तथा समुदायको लागि रक्तदान, स्वास्थ्य शिविर,सुत्केरी भेटघाट,सार्वजनिकस्थलको सरसफाई गर्ने भएको छ ।
संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले आर्थिक बर्ष २०८० / ८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर पुँजी ६ करोड ३९ लाख,जगेडा तथा अन्य कोषमा ७ करोड ९४ लाख, बचत संकलन ६९ करोड ७५ लाख र ऋण लगानी ६५ करोड ७३ लाख पुगेको बताए । त्यस अवधिमा संस्थाको कुल कारोबार ८७ करोड ७१ लाख ८२ हजार पुगेको छ । संस्थमा ५ हजार ४४ जना सदस्य आवद्ध रहेका छन्।
सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शालिकराम घिमिरेले सहकारी शिक्षा तथा शिविर सञ्चालन गरी सदस्यता वृद्धि गर्नु पर्ने,लघुवित कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तालिम दिनुपर्ने र नयाँ नयाँ प्रविधिको प्रयोग गरी कारोबारलाई प्रभावकारी एंव चुस्त बनाउनु पर्ने लगायतका सुझाव दिएका छन् ।
Leave a comment