हाइलाइट

रजत वर्षको अवसरमा बालकुमारी साकोसको साताब्यापी कार्यक्रम

रजत वर्षको अवसरमा बालकुमारी साकोसको साताब्यापी कार्यक्रम :: Sahakari Akhabar

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसरमा बालकुमारी साकोसको साताब्यापी कार्यक्रम थालेको  छ । संस्थाको २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले साताव्यापी कार्यक्रमको पहिलो दिन भाद्र २७ गते सदस्यहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले प्रशिक्षण दिएका थिए ।

संस्थाका अध्यक्ष श्रेष्ठले साताव्यापी कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाइराखेको बताए । शाताव्यापी कार्यक्रमको पहिलो दिन वित्तीय साक्षरता मार्फत सहकारी के हो र संस्थाप्रति सदस्यको भूमिका के हुन्छ भन्ने विषयमा प्रशिक्षण दिएको बताए ।

त्यसैगरी ऋण परिचालन र बचत गर्दाको महत्वको विषयमा पनि जानकारी दिइएको उनले जनाए । तालिममा २ सय बढी सदस्यको सहभागिता रहेको थियो । संस्थाले भक्तपुर जिल्लाव्यापी चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ ।

संस्थाका साताब्यापी कार्यक्रममा बालकुमारी मन्दिर क्षेत्र र बालबालिकालाई पायक पर्ने अन्य दुई ठाउँमा समेत गरी तीन क्षेत्रमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । संस्थाले साताव्यापी कार्यक्रमको तेस्रो दिन खुल्ला रक्तदान, चौथो दिन बृद्धाआश्रम तथा मानव विद्या गृहलाई भौतिक सामाग्री सहयोग गर्ने जनाएको छ ।

त्यसैगरी पाँचौ दिन सरसफाई कार्यक्रम, छैटौँ दिन प्रभातफेरी कार्यक्रम र सातौं दिन रजत महोत्सव समारोह समापनका साथै संस्थापक तथा पूर्व सञ्चालक र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ।
 



Leave a comment