विराटनगर । साल्पा देवी महिला बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरले आफ्नो १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष भुमिका गिरीको अध्यक्षता तथा विराटनगर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष गिरीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने लेखा समिति संयोजक दिपा कोईरालाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।
प्रस्तुत कार्षिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पुँजी ५२ लाख ९ हजार ४ सय रहेको छ भने निक्षेप बचत २्र६ लाख ५४ हजार ९७० रुपैया रहेको छ । सहकारीले ३४ लाख ३२ हजार ६९२ रुपैया ऋण लगानी गरेको छ । सहकारीले १८ लाख ७५ हजार १३७ रुपैया आम्दानी गरेकोमा १६ लाख ९५ हजार ७२० रुपैया खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीले १ लाख ७९ हजार ४१७ रुपैया नाफा कमाएको छ।
साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडा अध्यक्ष राम पोखरेलले नेपालमा सहकारीले छोटो समयमा नै फड्को मारेको भएपनि पछिल्लो समयमा सहकारीप्रति धेरै वितृष्णा बढेको बताए । सहकारीमा देखिका नकारात्मक धारणा चिनुपर्ने दायित्व सहकारी क्षेत्रमा लागेका व्यक्तिहरुको रहेको उनको भनाई थियो ।
उनले सहकारीलाई सहकारी कै निति नियममा बसेर सञ्चालन गर्नुपर्ने बताउँदै सहकारी संस्थाले सदस्य केन्द्रित भएर कार्यक्रमहरु सञ्चालन गनुपर्नेमा जोड दिए । संख्यात्मक भन्दा नि गुणात्मक विकास गर्न सकियो भने संस्था दिगो रुपमा सञ्चालन हुने उनको भनाई छ ।
त्यसैगरी विराटनगर महानगरपालिका सहकारी साखाकी रोजी कार्कीले सहकारीको वित्तिय अवस्था अलि खस्केको पाएको बताईन । सहकारी स्वास्थ्य शिविर लगायत सामाजिक गतिविधिमा अगाडि भएपनि वित्तिय अवस्था सुधार गर्न कार्कीले आग्रह गरिन् । कार्कीले लेखा समितिको भुमिका संस्थामा महत्वपूर्ण हुनेभएकाले लेखा समितिले संस्थालाई बढी निगरानी गर्नुपर्नेमा जोड दिईन ।
साधारणसभामा जेष्ठ सदस्य शुसिला लम्साल, रुकमणी पौडेल, असल बचतकर्ता यम कुमारी बोहोरा र असल ऋणी मोना कुमारी भुजेललाई सम्मान गरिएको थियो । साधारणसभामा सहभागिलाई सहकारीकी उपाध्यक्ष सरस्वती दाहाल ओझाले स्वागत गरेकी थिईन भने कार्यक्रम सञ्चालन सहकारीकी कोषाध्यक्ष सविता रिजालले गरेकी थिईन ।
Leave a comment