बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारीका अध्यक्षहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
बागलुङको चारतारे युवा क्लव सिवाईसी नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागलुङका क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरुका लागि १ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्षहरूलाई आधुनिक व्यवस्थापन सिद्धान्तहरू, रणनीतिक योजना, आर्थिक व्यवस्थापनका सीपहरू, सदस्यहरूको विश्वास जित्नका लागि आवश्यक संवाद सीप, समस्या समाधानका विधि सिकाइएको थियो ।
त्यसैगरी सहकारी संस्था सम्बन्धी कानूनी र नीतिगत प्रावधानहरू बारे अद्यावधिक जानकारी गराइ संस्था संचालनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताए ।
जिल्लाभरका ४५ वटा सहकारी संस्थाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन सत्रमा नेफ्स्कूनका पूर्व कोषाध्यक्ष एवं प्रशिक्षक केशवप्रसाद पोखरेल, चारतारे युवा क्लव, सिवाईसी नेपालका सचिव वीरवहादुर किसान, जिल्ला सहकारी संघ बागलुङका सल्लाहाकार तेजेन्द्र थापा लगाएतले बिचार राखेका थिए ।
कार्यक्रमले सहकारी संस्थाहरूको विश्वसनीयता र दिगोपनलाई सुनिश्चित गर्दै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने तथा नेपालको सहकारी आन्दोलनलाई पुनर्जागृत गर्न सशक्त कदम हुने सहभागिहरुको भनाई थियो ।
Leave a comment