भक्तपुर जिल्ला बचत संघको पुँजी तथा दायित्वमा ५८ प्रतिशतले बृद्धि

भक्तपुर जिल्ला बचत संघको पुँजी तथा दायित्वमा ५८ प्रतिशतले बृद्धि :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको वार्षिक समीक्षा तथा आ.ब. २०८१ / ८२ को बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । समिक्षमा संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संघको कुल पुँजी तथा दायित्वमा गत वर्षको तुलनामा ५८ प्रतिशतले बृद्धि भएको जनाए ।

उनले संघको कुल पुँजी तथा दायित्वमा गत वर्षको तुलनामा ५८ प्रतिशतले बृद्धि ३ अरब ५२ करोड पुर्याउन सफल भएको बताए । जुन अनुमानमा १४४ प्रतिशतले प्रगति हासिल भएको उनले जनाए । आम्दानी र खर्चमा ११० प्रतिशत लक्ष्य हासिल भई लेखापरिक्षण पूर्व ५ करोड ६६ लाख आय भएको प्रतिवेदन पेश गरेका थिए ।

संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले वार्षिक समीक्षा तथा आगामी बजेट सुझाव संकलन कार्यक्रममा संघले अनुगमनलाई प्राथमिकता दिने र समय अनुकुल सामाजिक उत्तरदायित्वमा ध्यान दिने र सदस्य सस्ंथालाई आर्थिक पक्षमा सुदृढ बनाउने बताए । उनले संस्थाहरु बलियो भयो भने संघ समेत बलियो हुने भएकोले संस्थाहरुको चौतर्फी विकासमा संघ निरन्तर प्रयासरत रहेको बताए।

कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण बल्लले समीक्षाको महत्व राख्दै नीतिमा चल्दै आएको संघ र संस्थाहरुमा समस्या नरहेको बताए । उनले हालको अवस्था समुदायमा आधारित संस्थाको लागि अवसरका रुपमा रहेको बताए । संघका सचिव जगनाथ प्रजापतिले आ.ब. २०८० / ८१ को कार्यक्रम तथा तालिम प्रगतिको बारेमा प्रस्तुती गरे ।

उनले कार्यक्रम समीक्षा अन्र्तगत सहकारी अभियानका कार्यक्रम, सदस्य, संचालक र कर्मचारीहरुको क्षमता विकासका तालिमहरु र संघले प्रदान गर्ने सेवाहरुको बारे प्रगति प्रतिवेदन पेश गरेका थिए । उनले ११ वटा सदस्य संस्थाहरुमा अनुगमन भएको जानकारी दिए । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको पाँचौ स्थापना दिवसबाट उत्कृष्ट जिल्ला बचत संघको पुरस्कार घोषणा भएको  पनि जनाए ।

सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले बैंक वित्तीय संस्थामा वित्तीय लगानी गरेर संघ दिगो नहुने भन्दै सदस्यता बृद्धि र ऋण लगानी बढाउनमा जोड दिनुपर्ने बताए । उनले संघको अग्रिम व्याजकर दाखिला ७ करोड ६८ लाख भन्दा बढी रहेकोले यो रकम फिर्ता वा घटाउन संघले विशेष योजना ल्याउनुपर्ने बताए ।

संघका व्यस्थापक बालकृष्ण धोजुले आ.ब. २०८१ / ८२ को कार्यक्रम योजना तथा बजेट प्रस्तुत गरेका थिए । उनले संघको सदस्य सक्षमता विकास, संचालक र कर्मचारी क्षमता विकास, संस्थागत विकास, अनुगमनका लागि योजना तथा बजेट पेश गरे।

ऋण लगानीलाई प्रोत्साहन गरी अग्रिम व्याजकर दाखिला घटाउने योजना समेत राखेका थिए । वार्षिक समीक्षा तथा आ.ब. २०८१ / ८२ को बजेट सुझाव संकलन कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिक्षण समिति, उपसमिति र कर्मचारीहरु गरी ४४ जनाको उपस्थिति रहेको थियो।



Leave a comment