काठमाडौं । बागमती प्रदेश सहकारी संघको पाँचौं स्थापना दिवसका अवसरमा बृक्षारोपण गरेको छ । संघले हरेक वर्ष श्रावण १३ गते स्थापना दिवसमा प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा सामाजिक कार्य गरि मनाउने गरेको छ । यसैअवसरमा यसपटक भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका स्थित हनुमन्ते खोला करिडोरमा करिव २०० वटा विभिन्न प्रजातीका बिरुवाहरु रोपेर संघले स्थापना दिवस मनाइएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला सहकारी संघ भक्तपुर र अन्नपूर्ण बहुमुखी सहकारी संस्थाको समन्वयमा आयोजित कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता रहेको थियो ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष अोमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको बृक्षारोपण कार्यक्रममा महासंघका उपाध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुवबहादुर विष्ट, नेफ्स्कूनकी सञ्चालक मन्दरा मिश्र, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष ध्रुवबहादुर रायमाझीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र मकवानपुर जिल्लाबाट करिब १५० जना सहकारीकर्मीको उपस्थिति थियो । प्रमुख अतिथि ओमदेवी मल्लले ठूला हलमा भड्किलो कार्यक्रम गरेर समय बिताउनु भन्दा रचनात्मक ढंगले सामाजिक कार्य गरेर मनाउनु उपयुक्त हुने बताइन ।
स्थापनाको पाँचौं दिवस मनाइरहँदा सीमित श्रोत र साधनको बाबजुत प्रदेश सहकारी संघले प्रदेश भित्रका १३ वटै जिल्लाहरुमा निरन्तर कार्यक्रमहरु गरिरहेकोमा प्रशंसा गर्दै अध्यक्ष मल्लले प्रदेश भित्रका सम्पूर्ण सहकारी संघ र संस्थाको साझा संघको रुपमा प्रदेश सहकारी संघले अनुकरणीय भूमिका निर्वाह गर्नुपर्ने बताइन ।
Leave a comment