राजसति महिला सहकारीको तीन महिने ब्युटी पार्लर तालिम सम्पन्न

राजसति महिला सहकारीको तीन महिने ब्युटी पार्लर तालिम सम्पन्न :: Sahakari Akhabar

विराटनगर। राजसति महिला सहकारीले बुढीगंगमा तीन महिने ब्युटी पार्लर तालिम सम्पन्न गरेको छ । नेपाल ग्रामिण महिला विकास केन्द्रको आयोजना तथा राजसति  महिला बहुउदेश्यीय सहकारी संस्थाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

शनिबार सम्पन्न तालिको समापन कार्यक्रममा बोल्दै राजसति महिला बहुउदेश्यीय सहकारी संस्थाकी कार्यबाहक अध्यक्ष गीतादेवी विष्टले सहकारी जन्माउने  मातृ संस्था नै नेपाल ग्रामिण महिला विकास केन्द्र भएकाले केन्द्रसँग सहकार्य गरेर महिलाहरुलाई तालिम प्रदान गरिएको बताईन ।

उनले महिलाहरुको नेतृत्व विकास र सिप विकासमा सहकारीले काम गरिरहेको जानकारी दिईन । महिलाहरुलाई अगाडि बढाउने उदेश्यले स्थापना भएको केन्द्रले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न सिपहरु सञ्चालन गरिरहेकाले सहकारीले पनि सहकार्य गरेको उनको भनाई छ । दुवैको उदेश्य मिलेकाले पनि काम गर्न सहज भएको उनले बताईन ।

विष्टले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरिन । “सहकारीका सदस्यको पैसा तपाईमा लगानी गरेका छौं”, उनले भनिन्, “पक्कै पनि तपाईहरुमा गरेको लगानी खेर  जाने छैन ।”

नेपाल ग्रामिण महिला विकास केन्द्रकी अध्यक्ष तुलसा विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा केन्द्रका सल्लाहाकार राजन केसीले केन्द्रले महिलाहरुलाई नेतृत्व तहसम्म पुरयाएको बताए । उनले भने, “तारादेवी राई सासंसद हुनुभयो ।

अन्य महिला दिदिबहिनी पनि विभिन्न संघ संस्थाको नेतृत्व गरिरहनु भएको छ । केही महिला दिदिबहिनीहरु व्यवसायिक रुपमा सफल भएर आर्थिक रुपमा सक्षम हुनुभएको छ । यो संस्थाकै देन हो ।”

केन्द्रको स्थापना देखि नै संस्थालाई अगाडि बढाउन आफुहरुले गरेको मेहनत अनुसार प्रतिफल पनि प्राप्त भएको उनले बताए । तालिम लिएका सहभागिप्रति लक्षित गर्दै उनले प्रमाण पत्र सिरानीमा नराखी व्यवसायिक यात्रा अगाडि बढाउन सुझाव समेत दिए । संस्थाले गरेको लगानीको प्रतिफल निकाल्न उनले तालिममा सहभागिहरुलाई आग्रह गरे ।

तालिम बैशाख १० गतेदेखि सुरु भएको थियो भने शनिबार अर्थात साउन ५ गते समापन गरिएको थियो । तालिममा १७ जना महिलाहरुको सहभागिता रहेको थियो ।

सुरुमा आधाभूत तालिम दिएर अनि एडभान्स तालिम दिईएको संस्थाकी सचिव लक्ष्मी कार्कीले जानकारी दिईन । तालिम दिईने मात्र भन्दा नी सहभागिलाई सिप सिकेर व्यवसाय गर्न सक्ने बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको पनि उनले बताईन । तीन महिलासम्म सञ्चालन भएको तालिमको सहजिकरण धर्म कुमारी थापाले गरेकी थिईन ।

तालिमको समापन कार्यक्रममा सहभागिहरुलाई ग्रामिण महिला विकास केन्द्रकी कोषाध्यक्ष मुना वाग्लेले गरेकी थिईन । कार्यक्रममा महिला विकास केन्द्रका पदाधिकारी तथा सदस्यहरु, सहकारीका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।



Leave a comment