काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला सम्पन्न गरेको छ । कार्यशाला दुइ चरणमा सम्पन्न भएको थियो । कार्यशालामा सहकारी विभागका उपरजिष्ट्रार टोलराज अर्यालले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरु र त्यसका समाधानका उपायहरुकाबारेमा जानकारी दिए ।
उनले सहकारी विभागले जारी गरेका विभिन्न निर्देशनहरुको बारेमा समेत कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि टिप्पणी गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सहकारीले उत्पादक कृषकहरुलाई उपभोक्ता संग सिधै जोड्ने कार्य सहकारी संस्थाहरुले गनुपर्ने बताए ।
उपरजिष्ट्रार अर्यालले ०.१२ प्रतिशत सहकारीमा समस्या आउँदा सम्पूर्ण सहकारीहरु बदनाम हुन परेको बताए । उनले ऐन नियमावली र विभागले जारी गरेका निर्देशनहरु पालना गरेर सहकारी संस्थाहरु सञ्चालित हुनु पर्नेमा जोड दिए ।
चन्द्रागिरि साकोसको आव २०८१ / ०८२ को प्रस्तावित कार्ययोजना अनुमातित बजेटको खाका छलफलका लागि प्रस्तुत गरिएको थियो । प्रस्तावित बजेट अनुसार संस्थाको कुल कारोबार ३ अर्व ९० करोड पुर्याउने लक्ष्य राखिएको छ भने जम्मा २२ हजार ५०० जना व्यक्तिहरुलाई सेवा पुर्याउने लक्ष्य लिईएको जनाइएको छ ।
कार्यक्रम तथा बजेटको मस्यौदाको क्रममा संस्थाका सदस्य, सञ्चालक, सल्लाहकार तथा उपसमितिहरुका साथै सरोकारवालाहरु विच आगामी वर्षको लागि तर्जुमा गरिने कार्यक्रम तथा बजेटका विषयमा सर्वेक्षण मार्फत जानकारीहरु संकलन समेत गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम तथा बजेट कार्यशालाका सहभागीहरु विच पर्याप्त छलफल गरी प्रस्तावित कार्यक्रम तथा बजेटको मस्यौदालाई अन्तिम रुप दिनको लागि प्यानल छलफल मोडेलमा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थाको प्रगतिको समिक्षा र आगामी आवको कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरलाई अन्तराष्ट्रिय श्रम संगठनमा श्रमिकहरुको तर्फबाट निर्वाचित भएकोमा सम्मान गरेको थियो ।
Leave a comment