हाइलाइट

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसमा दुईवटा सहकारी पुरस्कृत

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको स्थापना दिवसमा दुईवटा सहकारी पुरस्कृत :: Sahakari Akhabar

काठमाडौं । साना किसान विकास लघुवित्त वित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा दुई वटा सहकारी संस्था पुरस्कृत भएका छन् । वित्तिय संस्थाले देशभरबाट दुईवटा संस्थालाई उत्कृष्ट संस्था पुरस्कार प्रदान गरेको हो।

पुरस्कृत हुने संस्थाहरुमा सुर्खेतको गुमीमा रहेको परिवर्तन महिला साना किसान कृषि सहकारी संस्था र धनुषाको रघुनाथपुरमा रहेको रघुनाथपुर साना किसान कृषि सहकारी संस्था रहेका छन् ।

यी दुई संस्थाले आफ्नो लगानीमा रहेको सम्पूर्ण कर्जाको असुली दर १०० प्रतिशत पुरा गरेको जनाइएको छ । संस्थाहरुले युवा, महिला, दलित, जनजाती, पिछडीएको वर्गलगायतलाई उत्पादन र उद्यमसंग जोडेको बताइएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसंग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताए ।

उनले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने जनाए । उनले युवालाई उत्पादन र उद्यमसंग जोड्न सके मात्र देशको अर्थतन्त्र सुधार भई बढ्दो विदेश पलायन हुनेक्रम रोकिने बताए ।

गभर्नर अधिकारीले देशमा केही छैन, केही हुँदैन र केही सम्भव छैन भन्ने भाष्यको विकास गराउन खोजिएको प्रति असहमति जनाउँदै देश सम्भावनाले भरिपूर्ण भएपनि केही साना–साना कुराहरुमा सुधार गर्न नसक्दा युवाशक्ति विदेश पलायन हुन बाध्य भएको बताए ।

राष्ट्रबैँकले ल्याउने मौद्रीक नीतिमा पनि युवा, महिला, कृषि, उद्यम र उद्यमशीलतालाई जोड दिने जानकारी दिए । सरकारको योजनाअनुसार अर्थ मन्त्रालयले युवाहरुलाई व्यवसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेको र कार्यविधिअनुसार नै अनुदान बाँढिएको गभर्नर अधिकारीले बताए ।

हालसम्म एक लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको र त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उनको भनाई छ ।

उद्यमशीलता विकास एवम् रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षारता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गभर्नर अधिकारीले बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिन थालेपनि साना किसान सहकारी संस्थाहरुमा भने यस्तो समस्या नआएको उनको भनाई छ । विगतमा कृषि कर्मलाई हेला गर्ने समाजले अहिले सम्मान गर्ने अवस्था आएको पनि गभर्नर अधिकारीले उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले वास्तविक लाभग्राहीले सरकारी सेवा सुविधा र अनुदान पाउन नसकेको बताए ।

उनले कृषि कर्जामा दिइएको अनुदान वास्तविक लाभग्राहीले भन्दा पनि टठा बाठा हरुले पहुँचको आधारमा दुरुपयोग गरेको धारणा राखे ।

विभिन्न सहुलियत कर्जा लक्षित वर्गमा पुग्न नसकेको उनको भनाई छ । साथै, नीतिगत स्थायित्वको अभावमा निजी क्षेत्रको मनोबल खस्किँदै गएको र उनीहरुले लगानी गर्न नचाहेको क्षेत्रीले बताए ।

त्यस्तै, साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले सरल कर्जा प्रवाहमार्फत् युवा उद्यमशीलता विकास, समावेशी वित्तीय पहुँच विस्तारमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

साना किसान विकास लघुवित्तले साना किसान कृषि सहकारीमार्फत् कर्जा प्रवाह गर्ने भएकाले उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत् आन्तरिक उत्पादन बढाउन ठूलो योगदान गरेको उनको भनाई छ ।

साना किसान लघुवित्तबाट कर्जा पाएकामध्ये ७९ प्रतिशत भन्दा बढी महिला रहेको र देशभरका पाँच सय ५० स्थानीय तहमा साना किसान लघुवित्तको सेवा पुगिसकेको उनले जानकारी दिए । हाल साना किसानले ११ लाखभन्दा बढी घरपरिवारका ४५ लाख जनसंख्यामा सेवा पुर्याएको जनाए ।



Leave a comment