काठमाडौं । आगामी आर्थिक वर्ष २०८१ / ८२ का लागि कोशी प्रदेशको नीति तथा कार्यक्रममा सहकारीका कमर्यक्रम आउन सकेनन् । प्रदेश प्रमुख परशुराम खापुङले यही जेठ २१ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रदेश सरकारको नीति तथा कार्यक्रममा सहकारीलाई मात्र दुईवटा बुँदामा समेटिएको छ । त्यसमा पनि सहकारीको सहकार्यमा रुपटप सोलार इनर्जी र नियमनको पाटोमा सुधार ल्याउन विज्ञहरुको सुझाव लिने र सहकारी बर्गीकरण गर्ने विषयलाई समेटिएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, विज्ञहरूको सहयोगमा सहकारी क्षेत्रको नियमन, विकास तथा ब्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ । साथै प्रदेश कार्यक्षेत्रका सहकारीहरूको बर्गिकरण गरी सहकारी संघ संस्थालाई सम्भाव्य वित्तिय जोखिमबाट जोगाउन आवश्यक उपायहरूको अवलम्बन गरिनेछ ।
त्यसैगरी धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको स्तरोन्नती तथा विद्युत र सौर्य विद्युत प्रयोग गरी सौन्दर्यीकरण गरिनेछ । सहकारी, निजी तथा वित्तीय क्षेत्रको सहकार्यमा रुपटप सोलार कार्यक्रम प्रवर्धन गरिनेछ, उल्लेख छ।
कोशी प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।
Leave a comment