काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सफा टेम्पोमा ४ करोडसम्म लगानी गर्ने भएको छ । संस्थाले कम पूँजी भएका वर्गमा रोजगारी सृजना गर्न प्रोत्साहित गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ४१ वटा लिथियम आयन रिचार्जेवल ब्याट्रिबाट सञ्चालित सफा टेम्पोमा ४ करोड सम्म लगानी गर्ने भएको हो ।
जेष्ठ २१ गते संस्थाले सदस्यहरुमा हरित सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशन प्रालीसंग सम्झौत गरि हरित सवारी साधन ऋण अन्तर्गत सफा टेम्पोमा लगानी गर्ने भएको जनाएको हो ।
न्यून ब्याजदरमा संस्थाले यो ऋण सुरुवात सुरुवात गर्ने जनाएको छ । ईमाडोल रत्नपार्क, लगनखेल बानेश्वर, लगनखेल डल्लु हुँदै सञ्चालन हुने सफा टेम्पोलाई १२ प्रतिशत व्याजदरमा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा आज संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक रामहरि न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सहकारीले सफा टेम्पोका सञ्चालक वा मालिकहरुलाई प्रतिव्यक्ति १० लाखमा नबढाई ऋण लगानी गर्नेछ । यस ऋण प्रोडक्टबाट सफा चार्जिङ्ग एण्ड सर्भिस स्टेशनका सञ्चालक र सफा टेम्पोका मालिकहरुलाई लाभ पुग्ने संस्थाले विश्वास लिएको छ ।
संस्थामा तरलताको अनुपात मजबुत भएको कारणले कुल ऋण पोर्टफोलियोको निश्चित प्रतिशत ऋण सहुलियत गरी विपन्न वर्गसम्म पुग्न र दिगो विकास लक्ष्य अनुरुप वातावरण संरक्षणमा योगदान पुर्याउन पनि चन्द्रागिरि साकोसको यो सेवा सफल हुने बताइएको छ ।
Leave a comment