विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले जनताले गाँस काटेर जम्मा गरेको पैसा हिनामिना गर्ने सहकारीलाई पानीमुनी गए पनि नछाड्ने चेतावनी दिएका हुन् ।
महानगरले आयोजना गरेको पाँचदिने सहकारी लेखा तथा पल्र्स तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले जनताको खुन पसिनाले आर्जन गरेको कमाई हिनामिना गर्ने सहकारीलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिनका हुन् ।
उनले हरेक सहकारीको गतिविधि र क्रियाकलापलाई महानगरले सुक्ष रुपमा अध्ययन गरिरहेको बताए । ‘महानगरको नियमन क्षेत्राधिकारभित्रका सहकारी संस्थाकाले बद्मासी गरे निर्ममतापूर्वक कारबाही गर्छौं,’ मेयर कोइरालाले भने,‘जनताले आफ्नो गाँस काटेर जम्मा गरेको पैसामा मोजमस्ती गर्न कसैलाई छुट छैन ।
’ मेयर कोइरालाले केही सहकारीका कारण राम्रा सहकारीको पनि बद्नाम भइरहेको बताए । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रहसमेत गरे । कोइरालाले लेखा तालिमले सहकारीको हिसाब किताब चुस्तदुरुस्त राख्न सहयोग पुग्ने बताए । रोजगारी सिर्जनासँगै ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुर्याउन सहकारीको अहम् भुमिका रहेको उनको भनाई थियो ।
जेठ १ गतेबाट सञ्चालित पाँचदिने तालिममा ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको सहकारी शाखाकी प्रमुख सुशिला अधिकारीले जानकारी दिइन । महानगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरूको क्षमता विकासकालागि सहकारी लेखा तथा पल्र्स तालिम दिएको थियो ।
Leave a comment