दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । संस्थाले सामाजिक व्यक्तित्व सम्मान, जेष्ठ नागरिक तथा पत्रकार सम्मान सहितको विविधि कार्यक्रम गरेको हो । २८ औं स्थापना दिवसका अवसरमा संस्थाले उद्यम प्रवर्धनका लागि अन्तरक्रिया तथा सदस्यलाई सम्मान गरेको छ ।
त्यसैगरी संस्थाका एकसय पाँच वर्षे शेयर सदस्य टेक बहादुर थापालाई जेष्ठ नागरिक सम्मान, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीलाई हाम्रो जनकल्याण व्यक्तित्व सम्मान र हाम्रो जनकल्याण पूर्व सञ्चालक सम्मान कमल प्रसाद चौलागाई, उत्कृष्ट कर्मचारीका रुपमा सहायक पदमा कार्यरत सुनिता चौलागाई र बोच संस्कृति भजन मण्डलीलाई सम्मान गरेको छ ।
संस्थामा सदस्य रही विभिन्न शिषर्कमा ऋण लिएर व्यावसायिक कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिरहेका १० जना शेयर सदस्यको अनुभव तथा सफलताको कथालाई हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप अन्तरगत छानिएका पत्रकारहरुले तयार परेको अनुसन्धानात्मक लेख बुलेटिनमा राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।
स्थापना दिवसकै अवसर पारेर हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोसीप प्राप्त गर्ने गोरखापत्र दैनिक पत्रकार बाबुराम शर्मा, कान्तिपुर दैनिकका केदार शिवाकोटी, कारोबार दैनिकका दिलबहादुर केसी, समदृष्टि अनलाइनकी बिनिता शिवाकोटी र दिक्षण दैनिकका श्रृजन घिमिरेलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
संस्थाले विगतदेखि वितरण गर्दै आएको ८० वर्ष माथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएका शेयर सदस्यहरुका लागि प्रोत्साहन खर्च वापत दुई÷दुई हजार नगद वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले गाउँगाउँमा उत्पादन र शहरमा पर्यटन व्यवसाय अहिलेको आवश्यकता भएको बताए । उनले हाम्रो जनकल्याण सहकारीले उद्यमी सदस्यसँग अन्तरक्रिया गरी व्यावसायिक ज्ञान सहित बजारीकरणका बारेमा जानकारी गराएकोमा उद्यमी महिला सदस्यले उत्पादन गरेका वस्तुहरु बजारीकरणका लागि भीमेश्वर नगरले बिक्री कक्षको व्यवस्था गरिदिने बताए ।
कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून)का महासचिव जिवसराज खडकाले हाम्रो जनकल्याण साकोस वित्तीय सुशासन कायम गर्दै सामाजिक गतिविधिमा समेत सक्रिय रहेको बताए । उनले सदस्यलाई उद्यमी बनाउने र सदस्यको सफलताको कथालाई नै अभिलेखिकरण गरी सदस्यको आवाजको रुपमा बुलेटिन प्रकाशन गर्ने गरेको जानकारी दिए ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठले शेयर सदस्यको बचत संकलन गरी ऋण परिचालनमा मात्र सीमित नभई संस्थाका सदस्यलाई आत्मनिर्भरताका लागि उद्यमी बनाउने अभियानमा रहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव शर्मिला सापकोटा, भीमेश्वर सहकारी सञ्जालका संयोजक कृष्ण बहादुर गौतम, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सचिव अनिल रिजालले संस्थागत गतिविधिका बारेमा जानकारी गराएका थिए । २०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण सहकारी संस्था पाँच वटा अन्य सहकारी संस्थासँग एकीकरण भएको छ । संस्थाले एउटा सेवा केन्द्र र दुई वटा नगद संकलन केन्द्रमार्फत जिल्लाभरी आफ्नो सेवा प्रवाह गरिरहेको छ ।
Leave a comment