काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका सहकारी विभाग संयोजक देवेन्द्रराज कंडेलले सहकारीलाई अहिलेको समस्याबाट निकास दिनुपर्ने बताएका छन् । सहकारी बिना देश विकास हुन नसक्ने भन्दै पूर्व मन्त्री कंडेलले मुख्य दलका नेताहरुले सहकारीको समस्याका विषयमा चासो दिनु पर्ने बताएका हुन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले शनिबार आयोजना गरेको सहकारीका समस्या तथा भावी रणनीति सम्वन्धि छलफल कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभागको तर्फबाट सुझाव राख्दै संयोजक कंडेलले बर्तमान अवस्थामा सहकारीको समस्या समाधानकालागि ठूला दलका सहकारी विभाग प्रमुखहरु एकठाँउमा टेवलटक गर्न आवश्यक रहेको बताए ।
उनले सहकारी मार्फत नेपाली जनताको जिवनस्तर उकास्न, सानातिना गर्जो टार्ने र समाजको मुहार फेर्ने विपी कोइरालाले देखेको सपना पुरा गर्न पनि नेपाली कांग्रेसले सहकारीका समस्या समाधाकालागि पहल गर्नु पर्ने बताए ।
उनले राज्यका सवै दलले सहकारीलाई प्रोत्साहन गर्नु पर्छ भने पनि सहकारीको नेतृत्वमा राजनीकिरण गर्नाले नेतृत्व कमजोर भइ सहकारीहरु बदनामी भएको बताए । उनले केही सहकारीहरु राम्रो हिसावमा संचालन गरिरहेको अवस्था भएपनि केहीको नियत नै खराव रहेकोले सहकारीलाई हेर्ने दृष्टि फरक भएको बताए ।
उनले सहकारीलाई सही बाटोमा ल्याउन पार्टीको सहकारी विभागले जस्तोसुकै भूमिका खेल्न तयार रहेको जनाए । सहकारी मार्फत सम्पत्ति आर्जन गर्न नियतवस पारिवारिक घटना घटाउनेसम्मका कर्म पनि भएको पाइएको उनको भनाइ छ । सहकारीले सदस्यको आवश्यकताका आधारमा सेवा दिएर सदस्यले आफ्नो संस्था हो भन्ने प्रत्याभूती दिलाउन आवश्यक रहेको उनले बताए ।
अधिकांसले पारिवारिकरुपमा सहकारी संचालन गर्ने र सहकारीको लगानी घरजग्गा जस्ता अनुत्पादन क्षेत्रमा गएको हुनाले समस्या आएको उनको भनाइ छ । आम सर्वसाधारण सदस्यले सहकारीमा बचत गर्दै जाने टाठा बाठाले त्यो बचतलाई अपचलन गर्दै जाने क्रमको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
पार्टीले पनि सहकारीका समस्या समधानमा नैतिक दायित्व लिनु पर्ने भन्दै प्रतिनिधि सभा सदस्य डा.आरजु राणा सभापति रहेको समितिलाई विभागले छिट्टै सहकारीका समस्याको दिर्घकालिन समाधानका उपाय सहिको सुझाव बुझाउने संयोजक कंडेलले जानकारी दिए । त्यसैगरी पार्टीको सहकारी विभागले पूर्णता नपाउनाले काम गर्न अप्ठ्यारो भएको उनको गुनाँसो थियो ।
Leave a comment