Sahakari Akhabar

रोयल बहुउद्देश्यीय सहकारीको वार्षिक उत्सवमा रक्तदान

रोयल बहुउद्देश्यीय सहकारीको वार्षिक उत्सवमा रक्तदान :: Sahakari Akhabar

काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २७ औं वार्षिक उत्सवको अवसरमा संस्थाको प्रधान कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए।

२०५५ साल वैशाख ९ गते २५ जना युवाहरुले २५ हजार पूँजीबाट स्थापना भएको संस्था २६ बर्ष पार गरि २७औं बर्षमा प्रवेश गर्दा १ अर्व ११ करोड निक्षेप, १ अर्व ६ करोड कर्जा प्रवाह गर्न सफल भएको र १० हजार सदस्य तथा १ अर्व ७५ करोड कारोवार गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सीताराम काफ्लेले बताए ।

काठमाडौंको अनामनगरबाट सुरु भएको संस्थाले हाल काठमाडौंको बसुन्धरामा एक रोपनी जग्गामा आफ्नै अत्याधुनिक भवनबाट सेवा सञ्चालन गरिरहेको छ ।

संस्थाको ५ वटा सेवा केन्द्र कार्यालयहरु रहेका छन् भने फर्पिङ सदस्य सेवा केन्द्र र टोखा सदस्य सेवा केन्द्रले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । तीनवटा सेवाकेन्द्रहरुको लागि जग्गा खरिद गरी भवन निमार्ण गर्ने योजना रहेको छ ।

संस्थाको उद्देश्य अनुरुप अगाडि बढ्न वैकल्पिक व्यवसाय अन्तर्गत काठमाडौं लगायत छिमेकी जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्नेे योजना रहेको संस्थाका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिए ।

देशभरका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यका लागि गाउँको उत्पादन शहरमा, शहरको पूँजी गाउँमा भन्ने मुल नाराका साथ काठमाण्डौमा निकट भविष्यमा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा रोयल कृषि मार्ट संचालन गर्ने योजना रहेको  अध्यक्ष ढकालले जानकारी दिए ।

संस्थाले सामाजिक तथा आर्थिक रुपले पिछडिएका गरीव एवं बिपन्न वर्गका समुदायहरुलाई कृषि तथा आयमुलक व्यापार व्यवसाय गरी स्वरोजगार सृजना गर्न सरल तरिकाले वित्तिय सेवा तथा सुविधाहरु उपलब्ध गराई आत्मनिर्भर, स्वाभिमानि र सम्मानित जीवन वाँच्न सहयोग पुर्याउने उद्देश्यले लघुवित्त कार्यक्रमलाई थप प्राथमिकतमा राखी लघुवित्त सेवा प्रदान गर्दै आइरहेको उनले जनाए ।

संस्थाले सदस्यहरुलाई पूर्ण वित्तिय सेवाहरु बचत, कर्जा, वीमा, लघुवित्त, रेमिट्यान्स, तालिम तथा वित्तिय परामर्श प्रदान गरिरहेको छ ।
कृषि क्षेत्रको दिगो, गुणात्मक विकास र मर्यादित कृषि तथा प्रतिस्पर्धी व्यवसाय बनाउनका लागि बचत तथा ऋण बाहेक संस्थाले कृषि क्षेत्रलाई पनि थप प्राथमिकतामा राखि संस्थाको सेवा केन्द्र कार्यालय टोखा तथा सेवा केन्द्र कार्यालय फपिङमा कृषि श्रोत केन्द्र सञ्चालनमा ल्याएको छ, उक्त श्रोत केन्द्र बाट सदस्य तथा गैह्रसदस्य कृषकहरुले कृषि सँग सम्वन्धित कृषि सामाग्री, विउ–विजन, लगायत सम्पूर्ण कृषि प्राविधिक सेवाहरु उपलब्ध गराँउदै आएको छ ।

संस्थाले समाजमा रहेका “हुँदा खानेदेखी हुने खाने सम्म” बच्चा देखी बृद्धा सम्म, धनि देखि गरिब सम्मका सदस्यहरुलाई विभिन्न किसिमका बस्तु तथा सेवाहरु प्रदान गर्ने सहकारीको रुपमा विकास गर्न सफल भएको छ । यस संस्थाले हालको योजनामा कृषकमुखी एवम् उपभोक्तामुखी सहकारी मोडल निर्माण गर्न आफ्नो कार्यक्रमहरु अगाडी वढाइरहेको जनाइएको छ।

कार्यक्रममा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ फाउन्डेसनको समेत सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका लघुवित्त प्रमुख सुरेन्द्र वि.क.ले सञ्चालन गरेका थिए ।



Leave a comment