बर्दिया । ठाकुरबाबा नगरपालिका भुरीगाउँमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा सदस्यलाई सम्मान गरेको छ । सस्थाको १८औँ स्थापना दिवसका अवसरमा शुक्रबार सदस्यलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको हो ।
संस्थाको मुख्य कार्यालय सहित बर्दियाको ठाकुरद्वारा, पर्यत्न, सकृय, उत्प्रेरणा, राधाकृष्ण, जनचेतना, बृद्वि, उत्सव र छहारी गरि ९ वटा सेवाकेन्द्रमा आवद्ध शेयर सदस्यहरुलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको संस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । संस्थाले स्थापना दिवसमा नियमित बचतकर्ता, उत्कृष्ठ ऋणी, अधिकतम शेयर खरिद, बाल बचत कर्ता र उत्कृष्ट जेष्ठ नागरिकहरुलाई पुरस्कार तथा सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष नवराज न्यौपानेले सहकारी ऋण र बचतको कारोबार हुने संस्था भएकोले सदस्यहरुलाई ऋण तिर्न पर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरे । उनले चैत २० गते सहकारी दिवसका अवसरमा ठाकुरबाबा नगरपालिका १ को सिंहबाहिनीमा सदस्य केन्द्रित कार्यक्रम गर्ने बताए ।
ठाकुरबाबा नगरपालिका सहकारी क्षेत्रको हव भएकाले सहकारी दिवसका अवसरमा सिंह बाहिनीको खेलमैदानमा विभिन्न सहकारी संस्थाका १५ सय देखि २ हजार शेयर सदस्यहरुका लागि उत्प्रेणात्मक कक्षा संचालन गर्ने जानकारी दिए ।
यस्तै ठाकुरबाबा वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी निमराज खनालले सहकारीका माध्यमबाट धेरैजसो महिलाहरुको जीवीकोपार्जनमा टेवा पुर्याएको बताए । उनले सानो सानो लागानीबाट पुँजी संकलन गरि व्यवसाय बढाउन सकिने भएकाले लागानीको सहि सदुपयोग गर्नुपर्ने बताए ।
Leave a comment