काठमाडौं । जिल्ला सहकारी संघ इलामले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी सम्मेलन २०८० गर्ने भएको छ । सहकारी दिवस जिल्ला सहकारी सम्मेलनको औपचारिक कार्यक्रम सहित विभिन्न कार्यक्रम गरी मनाउने भएको हो।
संघले जिल्लाका सबै सहकारी संघ संस्थालाई सूचना जारी गरी इलाम सदरमुकाममा जिल्लास्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस जिल्ला भरका सबै सहकारी संघ संस्थाहरुका अध्यक्ष, पदाधिकारी, सदस्य, कर्मचारी तथा सहकारी कर्मीहरुको व्यापक सहभागीतामा सम्पन्न गर्ने जनाएको छ ।
सहकारी दिवस मनाउन सहकारी संस्थाहरुको पहिचान समेत झल्कनेगरि आआफ्नो सहकारी संघ संस्थाहरुको तुल तथा व्यानर सहित चैत २० गते बिहान १०ः३० बजे इलाम सदरमुकाम स्थित ठुलो टुडिखेलबाट बृहत सहकारी र्याली सहित गौतम बुद्ध सभागृहमा सहभागीताको लागि अनुरोध गरेको छ ।
कार्यक्रममा नेफस्कूनका पूर्व कार्यकारी अधिकृत प्रकाश पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । त्यसैगरी जिल्लाको फाकफोकथुम गाउँपालिकामा चैत १८ र देउमाई नगरपालिकामा चैत २१ गते बृहत सहकारी र्याली सहित सहकारी दिवस मनाउने कार्यक्रम तय भई सकेको संघका अध्यक्ष लिलाप्रसाद थापाले जानकारी दिए । संघले सप्ताहब्यापी “सहकारीमा सुशासन प्रविधी र एकिकरण भन्ने मुल नाराका साथ जिल्लाभर विभिन्न कार्यक्रम गरी भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाउने भएको हो ।
Leave a comment