काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई नेपालको पर्यटन ऐनमा पर्यटनमा सहकारी क्षेत्रलाई जोड्नेगरी कानुन संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।
भेटमा संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले मन्त्री तामङलाई सहकारीको वर्तमान अवस्था र सहकारी मार्फत पर्यटनलाई प्रवर्धन गर्न सकिने क्षेत्रहरुको बारेमा जानकारी गराएका थिए । वर्तमान पर्यटन ऐनमा संशोधन गर्नुपर्ने विषयहरुलाई सुझावको रुपमा प्रस्तुत गर्दै पर्यटन ऐनमा सहकारी क्षेत्रलाई समावेश गर्नका लागि उनले आग्रह गरे ।
मन्त्री तामाङले संघको सुझावलाई सकारात्मक रुपमा लिंदै कार्यान्वयनका लागि पहल गरिने जनाए । साथै सहकारी मार्फत पर्यटन क्षेत्रलाई प्रवर्धन गराउने खालको नीति अवलम्वन गरिने र सरोकारवालाहरुसँग सहकार्य गर्दै साझा कार्यक्रम सञ्चालन गरिने मन्त्री तामाङले व्यक्त गरे ।
संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको नेतृत्वमा उपाध्यक्ष शिवप्रसाद कट्टेल, महासचिव देवराज पराजुली, सचिव प्रेमभक्त महर्जन, लेखा सुपरीवेक्षण समितिका संयोजक तेजबहादुर बोहोरा, उपसमितिका सदस्यहरु रुपक घिमिरे, ज्ञानमणि न्यौपाने र रुपेश तिमल्सिनाको उपस्थिति रहेको थियो ।
Leave a comment