विराटनगर । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई चार दिने धार्मिक तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । सहकारीले फागुन २५ गतेदेखि २८ गतेसम्म विभिन्न स्थानका धार्मिकस्थान भ्रमण गराएको थियो ।
सहकारीको १०९ जना भन्दा बढी शेयर सदस्यले काभ्रेको पलान्चोक भगवती, दोलखाको कालिन्चोक भगवती, भिमेसेनथानको दर्शन त्यसैगरी जिरी र सिन्धुलीगढीको समेत भ्रमण गरेका थिए । भ्रमणको अवसरमा दोलखाको जिरीमा रहेको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थासँग सिकाई आदान प्रदान सहित संस्थाको अवलोकन गरिएको थियो।
सिकाई आदानप्रदान गर्दै फ्रेन्डसिप सहकारीका अध्यक्ष भुमिराज खड्काले सहकारी प्रविधिमैत्री बनाएर काम गरिरहेको जानकारी दिए । उनले भने, ‘संस्थाको विकासमा आवश्यक प्रविधि सवै प्रयोग गरेका छौं । शेयर सदस्यहरुलाई पनि प्रविधिमैत्री बनाईरहेका छौं । सेवासुविधा पनि प्रविधिबाट नै दिने गरेका छौं ।’
सहकारीमा १५ हजार ५ सय ९१ जना सदस्य रहेको उनले बताए । सहकारीको दोलखा, रामेछाप, काभ्रे र काठमाडौं कार्यक्षेत्र रहेको पनि उनले बताए । सहकारीको अर्वौको कारोबार रहेको छ । राष्ट्रसेवक सहकारीका अध्यक्ष जीवन काफ्लेले राष्ट्रसेवक सहकारीले पनि प्रविधिलाई पछ्याईरहेको बताए ।
सानो सानो कारोबारमा चलिरहेको बताउँदै फ्रेन्डसिपको र राष्ट्रसेवकको कामको प्रकृति उस्तै उस्तै रहेको बताए । उनले संस्थालाई चुस्त दुरुस्त राख्नको लागि प्रविधिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै सदस्यलाई नी प्रविधि मार्फत नै सेवा प्रदान गरिरहेको उल्लेख गरे । काफ्लेले फ्रेन्डसीपका अध्यक्षलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
सहकारीले हरेक वर्ष धार्मिक भ्रमण तथा अध्ययन अवलोकन भ्रमण गराउने गरेको सहकारीका प्रवन्धक कृष्ण भट्टराईले जानकारी दिए । सदस्यको योगदानमा आधारित भ्रमणको आयोजना हुँदा सदस्यलाई पनि संस्थाप्रति जिम्मेवारीबोध हुने र केही सिकाई पनि हुने भएकाले भ्रमण प्रभावकारी हुने भ्रमणमा सहभागिहरुले बताएका छन् ।
Leave a comment